उत्पादकत्व वृद्धि गर्ने ‘टुक्रे’ कार्यक्रम नारामै, अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको बढ्यै

काठमाडौं, १० असार । नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ ।

कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि अत्यावश्यक वस्तुको आयात बढ्दै गएको हो । जसको प्रभाव व्यापार घाटामा देखिएको छ ।

चालु आर्थिक वर्षको ११ औं महिना (साउनदेखि–२०७८ जेठसम्म) को तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ११ महिनामा १० खर्बको व्यापार घाटा रहेकोमा यस वर्ष झण्डै २५ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।

निर्यात झण्डै २६ प्रतिशतले बढेको छ भने आयात ३८ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापार १५ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ ।

७४ अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात

कृषिप्रधान देश नेपालले पछिल्लो ११ महिनामा ७४ अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात गरेको छ । सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने भनेर वर्षौदेखि नारा लगाइरहे पनि ११ महिनामै ७४ अर्ब ६७ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात गरेको छ ।

१८ अर्ब ८० करोड रुपैयाँको चिया, कफी र मसला, एक अर्ब ८२ करोड रुपैयाँको दुधजन्य पदार्थ, मह लगायत आयात भएको छ ।

कोरोना संक्रमण नियन्त्रणको लागि ठाँउ-ठाँउमा लगाइएको निषेधाज्ञको कारण अत्यावश्यक वस्तुको लागि नेपालले विदेशकै भरपर्नु परेको हो ।

कोरोनाको कारण घटेको उद्योगहरुको क्षमता, कामदारको कमीको प्रभावमा दैनिक उपभोग्य सामान अन्नजन्य सामग्री, घ्यु–तेल, तरकारी तथा फलफूलको आयातमा परेको छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न टुक्रे कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

तर कृषि पेशामै आबद्ध कृषकहरुले पनि समयमै गुणस्तरीय बीउ, रासायनिक मल, कृषि उपकरण लगायत नपाउँदा कृषि उत्पादन बढाउन सकेका छैनन् । जसले खाद्यान्नमा वर्षेनी परनिर्भरता बढ्दै गएको देखिन्छ ।

त्यस अवधिमा अत्यावश्यक वस्तुमा ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको भने ४५ अर्ब ३९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

यस्तै ३१ अर्ब ४४ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ, ५६ अर्ब ६६ करोड रुपैयाँको प्लास्टिकजन्य सामग्री, सात अर्ब १५ करोड रुपैयाँको काठ, १३ अर्ब रुपैयाँ भन्दा धेरैको कागज आयात भएको छ ।

यस्तै सबैभन्दा धेरै एक खर्ब ३९ अर्ब रुपैयाँको फलाम र ९७ अर्ब रुपैयाँ भन्दा धेरैको विद्युतीय सामग्री आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here