काठमाडौं भन्दा हिमालमा मूल्यवृद्धि बढी, तराईमा सबैभन्दा कम

फाइलफोटो

काठमाडौं ५, असार । गत वैशाखमा काठमाडौं उपत्यका भन्दा हिमालमा मूल्यवृद्धिदर बढी देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालको मूल्यवृद्धिदर ६.१ प्रतिशत छ । सोही अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ६.०५ प्रतिशत छ ।

वस्तु तथा सेवाको उपलब्धता कम र माग बढी भएकै कारण काठमाडौं उपत्यकाको तुलनामा हिमालमा मूल्य वृद्धि उच्च भएको हो ।

काठमाडौंपछि मूल्यवृद्धिदर धेरै भएको प्रदेश पहाड हो । वैशाखमा पहाडको मूल्यवृद्धिदर ५ प्रतिशत र तराईको ४.९ प्रतिशत छ । गत वर्षको १० महिनामा हिमाल, काठमाडौं उपत्यका, पहाड र तराईमा उपभोक्ता मूल्यवृद्धिदर क्रमशः ६.३ प्रतिशत, ३.३ प्रतिशत, ५.७ प्रतिशत र ४.० प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार ०७६ बैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ५.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४.१ प्रतिशत थियो ।

बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ४.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मूल्यवृद्धिदर ३.२ प्रतिशत थियो ।

दश महिनाको अवधिमा खाद्य तथा पेय समूहको मूल्यवृद्धिदर ४.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मूल्यवृद्धिदर ३.२ प्रतिशत थियो । जसमध्ये ध्यू तथा तेलको मूल्यवृद्धि ८.२, तरकारीको ६.३, खाद्यान्नको ५.५ र माछामासुको ४.७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.८ प्रतिशत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here