नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी छनोट

काठमाडौं, ६ मंसिर । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्।

स्याटेलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ८ कम्पनीमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको हो।

प्राधिकरणले सर्टलिष्ट गरेको कम्पनीहरुमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम रहेका छन् ।

प्राधिकरणका अनुसार सर्टलिस्टमा परेका ४ कम्पनीमध्ये उनीहरुको अनुभव र आर्थिक, प्राविधिक प्रस्तावका आधारमा पुनः छनोट प्रक्रिया अघि बढ्नेछ ।

प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी नभेटेको भन्दै खारेज गरेको सेटलाइटसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको हो । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो।

यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए ।

२०७३ असोजमा पहिलो पटक मागिएको आशयपत्र समयसापेक्ष नभएको भन्दै २०७७ मंसिर २२ मा सबै प्रक्रिया खारेज गरिएको थियो ।

नेपालले हाल विभिन्न विदेशी भू-उपग्रहहरुको प्रयोग गरी दूरसंचार तथा टेलिभिज सेवा प्रशारण गरिहेको छ । जसका कारण नेपालले भू–उपग्रह शुल्कवापत अर्बाै रुपैयाँ विदेश पठाईरहेको छ ।

नेपालले आफ्नै भू–उपग्रह राखेको खण्डमा विदेशी भू उपग्रह प्रयोगवापत विदेशिने अर्बाै रुपैयाँ नेपालमै रहने बताइएको छ ।

दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here