राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु, कुन दलबाट को ?

काठमाडौं, २० पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु भएको छ ।

निर्वाचन आयोगको अनुसार आइतबार बिहान १० बजेदेखि सुरु भएको मनोनयनपत्र दर्ता प्रक्रिया अपराहृन ३ बजेसम्म चल्नेछ । दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

२१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।

मनोनयन भएका उम्मेदवारको नामावली भने २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ ।

माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ।

आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ। उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन लागेको हो।

कुन दलबाट को उम्मेदवार ?

सत्तारुढ नेकपाले प्रदेश नम्बर १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गङ्गा बेलबासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश ५ बाट विमला घिमिरे र जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट सुनिता बिसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

काङ्ग्रेसले प्रदेश १ मा निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे प्रदेश २ मा नागिना यादव र भोला पन्जियार प्रदेश ३ मा हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मी, कर्णाली प्रदेशमा विमला गौचन, प्रदेश ५ मा बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, राजपा नेपालले प्रदेश २ मा मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई र सङ्घीय समाजवादी पार्टीले रामप्रीत पासवानलाई नै उम्मेदवार बनाउने भएको छ । प्रदेश नम्बर २ मा नेकपाले राष्ट्रिय जनता पार्टीसँग र काङ्ग्रेसले सङ्घीय समाजवादी पार्टीसँग तालमेल गर्ने भएका छन् ।

चुनावमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिका मेयर/उपमेयर र प्रदेश सभाका सदस्यले मतदान गर्न पाउँछन् । यो चुनावबाट महिला र अन्य समूहबाट सात–सात जना तथा दलित र अल्पसङ्ख्यक समुदायबाट दुई–दुई जना निर्वाचित हुने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here