इण्टरनेट दुनियाँमा यसकारण छ ‘एनएफटी’ क्रेज

फोटो: गुगलबाट

रक्षा रेग्मी

काठमाडौं । सन् २०२१ को फेब्रअरी १९ मा ‘न्यान क्याट’ नामक चर्चित मिम ५ लाख ९० हजार डलरमा विक्री भयो ।

त्यस्तै ट्वीटरका पूर्व सीइओ ज्याक डोर्सीको पहिलो ट्वीट २.९ मिलियन डलर अर्थात नेपाली करिब ३४ करोड रुपैयाँमा विक्री भएको थियो । उनले २००६ मार्च २१ मा सो ट्वीट गरेका थिए ।

२.९ मिलियन डलरमा विक्री भएको ट्वीटरका पूर्व सीइओ ज्याक डोर्सीको पहिलो ट्वीट

न्यूयोर्क टाइम्सका स्तम्भकारले ५ लाख ६३ हजार डलर अर्थात करिब ६ करोड ७८ लाख नेपाली रुपैयाँमा आफ्नो स्तम्भ विक्री गरेका थिए ।

यता ‘द मर्ज’ नामक डिजिटल आर्ट हासम्मकै सबैभन्दा बढी मूल्यमा विक्री भएको नन-फन्जिबल टोकन ‘एनएफटी’ बनेको छ ।

९१.८ मिलियन डलर अर्थात नेपाली १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यमा गत डिसेम्बरमा सो द मर्ज विक्री भएको थियो । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् ।

पछिल्लो समय विभिन्न कलाकृति, फोटो तथा भिडियो क्लिपलाई महंगो रकममा किनबेचको ‘ट्रेण्ड’ नै चलेको छ ।

सामान्य फोटो, चित्र, मीम क्लिप र ट्वीटलाई अर्बौं हालेर किन किनिरहेका छन् त ? यो बुझ्नका लागि हामीले एनएफटी बारे जान्न जरुरी हुन्छ ।

के हो ‘एनएफटी’ ?

‘एनएफटी’ अर्थात नन-फन्जिबल टोकन । ‘एनएफटी’ भनेको कुनै पनि डिजिटल बस्तुको परिचय हो । जसले गर्दा सो वस्तुलाई अन्य भन्दा फरक देखाउँछ वा अरुले प्रतिस्थापन गर्न सक्दैन ।

त्यसको आफ्नो छुट्टै पहिचान हुन्छ । ‘एनएफटी’ केभिन मककोयले मे २०१४ मा आविष्कार गरेका थिए । उनले क्रिप्टो कला बजार सृजना हुनअघि नै क्वान्टम नन-फन्जिबल टोकन सृजना गरेका हुन् ।

यहाँ नन-फन्जिबल भन्नाले अरु भन्दा फरक अस्तित्व रहेको भन्ने बुझिन्छ । उदाहरणका लागि तपाईसँग भएको पाँच रुपैयाँ र तपाईको साथीसँग भएको पाँच रुपैयाँको मूल्य बराबर हुन्छ ।

यो फन्जिबल भयो । यदी तपाईसँग भएको पाँच रुपैयाँमा कुनै सेलिब्रेटीको हस्ताक्षर लिनुभयो भने यो नन-फन्जिबल अर्थात अरुभन्दा फरक भयो ।

त्यसैगरी लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिङ लुव्रि म्युजियममा छ । त्यसलाई नन-फन्जिबल भन्न सकिन्छ ।

किनकी मोनालिसाको फोटो गुगलबाट डाउनलोड गरेर वा प्रिन्ट गरेर राख्न त सकिन्छ । तर दा भिन्चीले बनाएको पेन्टिङको महत्व अरुभन्दा बढी छ । त्यसको स्वामित्व अरुले लिन सक्दैन ।

अहिले डिजिटल संसारमा भने स्वामित्व लिने/दिने भइरहेको छ । मानिसहरु डिजिटल आर्टलाई आफ्नो नाममा बनाउन लागिपरेका छन् ।

विज्ञहरुका अनुसार पाँच बर्ष यता डिजिटल आर्टले परम्परागत कलालाईपछी पारिसकेको छ ।

‘एनएफटी’मा सक्कल र त्यसको नक्कल सजिलै पहिचान गर्न सकिन्छ । त्यस्तै कुनै पनि डिजिटल सम्पत्ति कसको स्वामित्वमा छ भनेर सजिलै हेर्न सकिन्छ ।

‘एनएफटी’मा ब्लकचेन टेक्नोलोजी प्रयोग भएको छ । ब्लकचेन प्रविधिमा कुनै पनि डिजिटल आर्टको सूचना ब्लक्समा राखिएको हुन्छ ।

सबैभन्दा बढी विक्री भएको ‘एनएफटी’

जसलाई ह्याक वा परिवर्तन गर्न सकिदैन । यदी कसैले सूचना परिवर्तन गर्न खोजेमा कसरी, कहाँ र कति परिवर्तन भएको छ सबै थाहा हुन्छ । कुनै कुरा लुकाउन सक्दैन ।

यदी डिजिटल आर्ट बनाएर कसैलाई बेच्नुभयो भने त्यसको विक्री प्रक्रियाका सबै सूचना सबैले थाहा पाउन सक्छन् ।

‘एनएफटी’मा राखिएका आर्ट, क्लिप तथा फोटो सबैले सजिलै हेर्न मिल्छ । साथै त्यो कसले बनाएको कसले किनेको लगायत सबै जानकारी ब्लकचेनमा बस्छ । ‘एनएफटी’मा क्रिप्टोकरेन्सिको प्रयोग भएको हुन्छ ।

कुनै डिजिटल आर्टलाई ‘एनएफटी’मा रुपान्तरण गर्ने प्रक्रियालाई ‘मिनटेड’ भनिन्छ । यदी तपाईसँग भएको सेलिब्रटीको हस्ताक्षर भएको पाँच रुपैयाँ इण्टररनेटमा बेच्न चाहनुभयो भने ‘एनएफटी’ बनाएर राख्न सकिन्छ । सो प्रक्रिया मिनटेड हो ।

कला, गीतसंगित, वेवसाइट, ट्वीट, फोेटो, भिडियो क्लिप लगायतलाई ‘एनएफटी’मा किनबेच गर्न सकिन्छ ।

नेपालमा क्रिप्टोकरेन्सि कारोबार गैर कानुनी मानिन्छ । तर छिमेकी मुलुक भारतमा भने ‘एनएफटी’ अभ्यासमा छ ।

भारतीय क्रिकेटर युवराज सिंहले हालै आफ्नो करिअरको सम्झनलायक क्षणहरुलाई फ्यानसँग सेयर गर्न एनएफटी सार्वजनिक गरेका छन् ।

छिमेकी मुलुक भारतमा भने वलिउड स्टार अमिताभ बच्चन, सलमान खान तथा रजनीकान्त लगायतले ‘एनएफटी’ सार्वजनिक गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here