काठमाडौं, २५ फागुन । कोभिड-१९ का कारण केही कमी आएको कार्बन उत्सर्जन दर वृद्धि भएर पुरानै अवस्थामा फर्किएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले जारी गरेको विश्लेषणात्मक तथ्यांकअनुसार महामारीको त्रासदीले कलकारखाना, यातायात लगायत क्षेत्र बन्द हुँदा अस्थायी रूपमा घटेको उत्सर्जन फेरि पूर्ववत् अवस्थामै फकिएको हो ।
तथ्यांक अनुसार कार्बन उत्जर्सन बढी गर्नेमा कोइलाजन्य इन्धन देखिएको छ।
ऊर्जाबाट हुने कार्बन डाइअक्साइडको उत्सर्जन सन् २०२१ मा ६ प्रतिशतले बढेर ३६.३ बिलियन टन पुगेको हो।
सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र चीन रहेको छ । चीनले सन् २०६० सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ ।
जसको ऊर्जा क्षेत्रबाट हुने कार्बन उत्सर्जन सन् २०२० र २०२१ दुवै वर्ष बढेको छ। उत्सर्जन बढ्नुमा चीन प्रमुख कारक देखिएको छ। भारत विश्वमा सबभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशमध्ये चीन र अमेरिकापछिको तेस्रो हो।
आइइएले भनेको छ, ‘सन् २०२१ मा चीनको ऊर्जा क्षेत्रबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन बढेर ११.९ बिलियन टनभन्दा माथि पुगेको छ। यो विश्वव्यापी उत्सर्जनको ३३ प्रतिशत हुन आउँछ।’
यस्तै भारतको ऊर्जा क्षेत्रबाट भएको उत्सर्जन गत वर्ष सन् २०१९ को स्तरभन्दा माथि पुगेको छ। भारतमा कोइलाजन्य ऊर्जाको प्रयोग बढ्दा उत्सर्जन पनि बढेको हो।
जलवायु परिवर्तनको असर नरोकिएको र वायुमण्डलमा हरितगृह उत्सर्जनको क्रम पनि लगातार चलिरहेको छ। जलवायु परिवर्तनको प्रमुख कारण हरितगृह ग्यास उत्सर्जन र तापक्रम वृद्धि हो।
वायुमण्डलमा रहेका विभिन्न ग्यासमध्ये पृथ्वीको तापक्रम वृद्धि गराउने सबभन्दा ठूलो कारक कार्बन डाइअक्साइड हो।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्थाका अनुसार सन् २०११ देखि २०२० बीच पृथ्वीको तापक्रम १.०९ प्रतिशत वृद्धि भएको छ।
वैज्ञानिकहरू यो वृद्धिदर सन् २०५० सम्म १.५ भन्दा माथि जान दिन नहुने बताइरहेका छन्। विश्वभरका नेताको ध्यान यसैमा केन्द्रित छ।
उनीहरू पृथ्वीको तापक्रम बढ्न नदिन वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा घटाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
भारतले कार्बन उत्सर्जन शून्यमा पुर्याउने समयसीमा सन् २०७० लाई तोकेको छ। चीनले २०६० सम्म शून्यमा झार्ने भनेको छ। अमेरिका र युरोपियन युनियनले सन् २०५० मा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेका छन्।
चीन र भारत अहिले पनि विद्युत उत्पादनका लागि कोइलामा निर्भर छन्।