नेपालमा ६५ मुलुकका कामदार, श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी चिनियाँ

काठमाडौं, २९ फागुन । विदेशी कामदार पनि नेपालमा आएर श्रम गर्ने गरेका छन्।

ठूला(ठूला आयोजना र प्राविधिक काम सम्पन्न गर्न आवश्यक पर्ने दक्ष जनशक्ति को लागि नेपालले विदेशी कामदार भित्राउने गरेको छ ।

नेपालमा आवश्यक जनशक्ति नभएकै कारण विदेशी कामदार ल्याउनुपर्ने बाध्यता रहेको छ । अन्य मुलुकको तुलनामा भारतबाट रोजगारीका लागि नेपाल आउने कामदारको संख्या ठूलो छ।

नेपालमा काम गर्ने भारतीय नागरिकको सङ्ख्या पनि निकै ठूलो छ। यद्यपि सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन तापनि दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले श्रम इजाजत लिएका छन्।

श्रम इजाजत लिनेमा नेपाललाई आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्दै आएका मुलुकका नागरिकको संख्या उल्लेख छ। केही दातृ निकायमा काम गर्ने विदेशी नागरिकले पनि श्रम इजाजत लिएका विभागले जनाएको छ।

भारतबाट पनि ब्यापार व्यवसाय, लेबर कामदेखि डाक्टर, इन्जिनियर लगायतका प्राविधिक कामका लागि समेत कामदार आउने गरेका छन्। ठूलाठूला सडक, सुरुङ मार्ग, विद्युत आयोजना, लगायत निमार्ण, होटल, व्यवसाय, रेस्टुरेन्ट, स्वास्थ्य क्षेत्र लगायत कामका लागि नेपालमा विदेशी कामदार आउने गरेका छन्।

चालु आर्थिक वर्षमा १ हजार ५६५ जना विदेशी नागरिकले श्रम विभागबाट श्रम स्वीकृति लिएका छन् । जसमा ७६० जना महिला र ७१६ जान पुरुष रहेका छन् । सो अवधिमा ८०५ जनाले श्रम इजाजत नविकरण गरेका छन् । श्रम इजाजत नविकरण गर्नेमा १०१ जना महिला र ७०४ जना पुरुष रहेका छन् ।

यस अवधिमा ६५ देशका विदेशी नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएको देखिन्छ ।

गत आर्थिक वर्षमा भने ६६ देशका नागरिकले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति नलिई काम गर्ने कामदारहरु धेरैजसो भारतीय नागरिक रहेका छन् । नेपालमा विदेशी कामदारहरुको संख्या धेरै भएपनि श्रम स्वीकृति लिएर काम गर्नेहरु भने कम रहेको विभागको भनाई छ ।

विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिने विदेशी नागरिकको संख्या घटेको छ । गत वर्ष ६६ देशका २०५९ नागरिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा उक्त संख्या घटेर १५६५ पुगेको हो ।

हालसम्मको तथ्याङक हेर्दा श्रम स्वीकृति लिने विदेशी नागरिकहरुमध्ये सबैभन्दा चीनका रहेका छन् । गत आवमा १४८४ जना चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका थिए भने यस वर्ष १११६ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, चालु आवमा श्रम स्वीकृति लिनेमा बेलायती नागरिक ६२ जना, भारतीय नागरिक ३९ जना, अमेरिकन नागरिक ३९ जना, आयरल्याण्डका ३९ जना, जापनीज ३१ जना र श्रीलङकाका नागरिक २० जना रहेको तथ्याङकमा उल्लेख छ ।

नेपालमा चीन, भुटान, बङ्गलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, मलेसिया, नेदरल्यान्ड लगायत ६८ देशबाट रोजगारीका लागि कामदार आउने गरेका छन् ।

श्रम विभागले आर्थिक वर्ष २०६९/७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो। आव २०६९/०७० मा ९८४ विदेशीलाई विभागले श्रम इजाजत दिएको थियो।

सजिलो छैन स्वीकृति

विदेशी नागरिकलाई श्रम स्वीकृति लिने प्रक्रिया भने त्यति सजिलो छैन। कुनै रोजगारदाताले विदेशी श्रमिक राख्नु परेमा शुरुमा कुन विशेषज्ञता हासिल गरेको कामदार चाहिने हो ।

त्यसको विज्ञापन गर्नु पर्नेछ। विदेशी नागरिकका लागि श्रम इजाजत जारी गर्नका लागि गृह मन्त्रालयको सहमति आवश्यक पर्दछ। त्यस्तै सम्बन्धित क्षेत्र पर्ने मन्त्रालयको सिफारिस आवश्यक पर्दछ।

सम्बन्धित मन्त्रालयको सिफारश, गृह मन्त्रालयको सहमति, रोजगारदातासँगको सम्झौतालगायत कागजपत्रसहित निवेदन दिएपछि विभागले अध्ययन गरेर श्रम इजाजत प्रदान गर्दै आएको छ। तर, नेपाल सरकारसँग कुनै मुलुकको विषेश सम्झौता भएको खण्डमा सिधै ती मुलुकका नागरिकलाई श्रम इजाजत दिने गरिएको छ।

श्रम इजाजतका लागि कामदार स्वयम् विभागमा उपस्थित हुनुपर्छ। श्रम इजाजतका लागि आवश्यक कागजात पुगेपछि विभागका कर्मचारी सम्बन्धित श्रमिकको ‘बायोमेट्रिक’ सङ्कलन गर्छन्।

त्यसपछि उनीहरुसँग अन्तर्वार्ता लिइन्छ। अन्तर्वार्तामा कुन कामका लागि आएको हो, कति पारिश्रमिक पाउने, कति समय काम गर्ने, शैक्षिक योग्यतादेखि दक्षतासम्मका विषय सोधिन्छ। अन्तर्वार्तापछि मात्र श्रम इजाजत दिने गरिएको छ।

पहिलो चरणमा छ महिनाका लागि श्रम इजाजत प्रदान गरिँदै आइएको महानिर्देशक केसीले बताए। त्यसपछि प्रत्येक पटक इजाजत नवीकरण गर्नुपर्छ। श्रम नियमावली, २०७५ मा ६ महिनासम्मको अवधिको लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ र एक वर्षका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ इजाजत शुल्क तोकिएको छ।

तर, विदेशी दातृ निकायमा काम गर्ने श्रमिकका हकमा भने शुल्क लाग्ने छैन। सामान्यतः विदेशी श्रमिकलाई बढी ३ वर्षका लागि श्रम इजाजत दिन सक्छ । नियमावलीमा दक्ष प्राविधिक विदेशी श्रमिकलाई बढीमा ५ वर्षसम्म श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ।

इजाजत नलिए निष्काशन

श्रम ऐन, २०७४ मा कुनै पनि विदेशी नगारिकले श्रम इजाजत नलिइ नेपालमा काम गर्न नपाउने व्यवस्था छ। ऐनको दफा २२ को १ मा विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रुपमा काममा लगाउन नपाउने व्यवस्था गरिएको छ।

रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा मात्र विदेशी श्रमिकलाई काममा लगाउन पाउनेछन्।

ऐनमा कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताअन्तर्गत श्रम स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने सबै विदेशी नागरिकले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ।

श्रम इजाजत नलिइ काम गरेको पाइएमा विभागले त्यस्ता श्रमिकलाई तत्काल निष्कासन गर्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here