काठमाडौं । प्रदेश नम्बर १ मा रहेका धार्मिक पर्यटनहरुमा खर्च ४३.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति विशेष अध्ययन प्रतिवेदनले पर्यटनको खर्च बढेको देखाएको हो ।
प्रतिवेदनले विगत पाँचवर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकहरुको भ्रमण खर्च अघिल्लो पटकको तुलनामा ४३.६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
धार्मिकस्थलको भ्रमणमा जाने पर्यटकको कुल खर्चमध्ये मुख्य खर्च यातायातमा हुने गरेको देखिएको छ। सार्वजनिक, निजी तथा रिजर्भका सवारी साधनबाट भ्रमणमा जाने पर्यटकको संख्या समान रहेको पाइएको छ।
धार्मिकस्थल भ्रमण गर्दा सर्वेक्षणमा सहभागी प्रति पर्यटक औसत खर्च रु.११,८०० भएको देखिएको छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४३.३ प्रतिशत र होटल (खाना सहित) र पूजा तथा उपहार सामाग्री खरिदका लागि क्रमशः ३५.९ प्रतिशत र १०.६ प्रतिशत खर्च भएको देखिएको छ ।
धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसाय सञ्चालन गर्ने ९०.० प्रतिशत व्यवसायीको व्यवसाय सञ्चालन गर्ने मुख्य आधार धार्मिक पर्यटन रहेको पाइएको छ ।
धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसायको कुल बिक्रीमध्ये पूजा सामाग्रीको बिक्री अंश सबैभन्दा बढी ८०.० प्रतिशत र उपहार तथा हस्तकलाका सामाग्रीका ेबिक्री अंश २०.० प्रतिशत रहेको पाइएको छ ।
प्रदेश नं. १ मा रहेका धार्मिकस्थलहरुको भ्रमण गर्दा पर्यटकले असोज, कात्तिक तथा चैत महिनालाई अन्य महिनाको तुलनामा बढी उपयुक्त महिनाको रुपमा लिएको पाइएको छ।
धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री, उपहार तथा हस्तकला सामाग्रीको व्यापार गर्ने व्यवसायीको औसत ५ जनाको परिवार यस व्यवसायमा निर्भर रहेको देखिएको छ।
कुल लगानी वार्षिक ७ लाख ३१ हजार रुपैयाँ तथा बिक्री आय वार्षिक १५ लाख ८४ हजार रुपैयाँ रहेको यस व्यवसायको औसत नाफा २८.४ प्रतिशत रहेको पाइएको छ।
धार्मिकस्थल वरपर रहेका होटलहरुमध्ये विगत १० वर्ष अवधिदेखि सञ्चालनमा रहेका होटलले प्रवाह गर्ने सेवा सुविधा आधुनिक तथा पर्यटकस्तरीय रहेको पाइएको छ।
धार्मिकस्थल वरपरमा रहेका होटलले सेवा प्रदान गरेवापत प्राप्त गर्ने अधिकांश भुक्तानी नगद मै हुने गरेको पाइएको छ। आधुनिक भुक्तानीका माध्यमहरु क्युबर कोड, इ-वालेट, कनेक्ट आइपीएस, मोबाइल बैंकिङको प्रयोग नगन्य रहेको पाइएको छ।
छनोटमा परेका धार्मिकस्थलहरु
ठूलो पाथीभरा मन्दिर, ताप्लेजुङ
प्रदेश नं. १ को हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित ठूलो पाथीभरा मन्दिर फक्ताङलुङ गाउँपालिका वार्ड नं. ४ मा रहेको छ ।
प्रदेश राजधानी विराटनगरबाट करिब ३५० किलोमिटर उत्तर पूर्वतर्फ रहेको यस धार्मिकस्थलको भौगोलिक अवस्थिति उत्तरी अक्षांश २७.४२ डिग्री तथा पूर्वी देशान्तर ८७.७६ डिग्री रहेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार हिन्दू, बौद्ध एवं किराँत धर्मालम्बीहरूको साझा धार्मिकस्थलको रुपमा रहेको पाथीभरा मन्दिर, समुद्री सतहदेखि ३ हजार ७ सात ९४ मिटर उचाइमा रहेको छ ।
सानो पाथीभारा देवी मन्दिर, इलाम
प्रदेश नं. १ को पहाडी जिल्ला, इलाममा अवस्थित सानो पाथीभारा देवी मन्दिर रोङ्ग गाँउपालिका २ मा रहेको छ ।
प्रदेश राजधानी विराटनगरबाट करिब १३० किलोमिटर उत्तर पूर्व तर्फ रहेको यस धार्मिकस्थलको भौगोलक अवस्थिती उत्तरी अक्षांश २६.८२ तथा पूर्वी देशान्तर ८८.०७ रहेको छ ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ ।
हलेसी महादेव मन्दिर, खोटाङ
प्रदेश नं. १ को पहाडी जिल्ला खोटाङमा अवस्थित, हलेसी महादेव मन्दिर धार्मिकस्थल हलेसी तुवाचुङ नगरपालिका, वडा नं ७ मा रहेको छ । प्रदेश राजधानी विराटनगरबाट २६१ किलोमिटर उत्तर पश्चिम तर्फ रहेको यो धार्मिकस्थलको भौगोलिक अवस्थिति उत्तरी अक्षांश २७.२१ तथा पूर्वी देशान्तर ८६.६३ रहेको छ ।
समुद्री सतहदेखि १ हजार ४ सय ४४ मिटरको उचाइमा रहेको यो स्थलको प्राकृतिक भू–बनोट
संरचना विश्वमै अनौठो मानिन्छ ।
हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीलेपूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीले आदिम भूमि मानेकाले यसलाई त्रि–धार्मिक तपोभूमि पनि भन्ने गरिन्छ ।
बराहक्षेत्र, सुनसरी
प्रदेश नं. १ को सुनसरी जिल्लामा अवस्थित, यो धार्मिकस्थल बराहक्षेत्र नगरपालिका, वडा नं ७ मा रहेको छ । प्रदेश राजधानी विराटनगरबाट ५७ किलोमिटर उत्तर पश्चिम तर्फ रहेको यो धार्मिकस्थलको भौगोलक अवस्थिती उत्तरी अक्षांश २६.८७ तथा पूर्वी देशान्तर ८७.१६ रहेको छ ।
कोका र कोशी नदी संगममा पर्ने यो स्थानको बारेमा ब्रह्मपुराण, बराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेख गरिएको छ । नेपालको सबैभन्दा पुरानोमध्येको एक देवस्थल बराहक्षेत्रमा बराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ ।
बराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुबराह, सूर्यबराह, कोकाबराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन्।
बराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो । वि.सं. १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किएपछि वि.सं. १९९१ सालमा जुद्ध शमशेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए । यस धार्मिकस्थलमा आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन् ।
हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये कुरुक्षेत्र र हरिहरक्षेत्र भारतमा छन् । बराहक्षेत्र र मुक्तिनाथ नेपालमा छन्।
यी चार क्षेत्रमध्ये पनि बराह क्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले यस ठाउँलाइ पवित्र र महत्वपूर्ण धार्मिकस्थल मानिन्छ । बराह क्षेत्रको महिमा र महत्व असाध्यै ठूलो छ ।
प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार हिरन्याक्ष नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो क्षेत्रभित्र राखेर रसातलमा डुवाई मानव सृष्टि रोकेपछि भगवान विष्णुले बराह अर्थात बँदेलको अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ ।
त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको होर हिरन्याक्ष राक्षसको बध गरेर यस क्षेत्रमा आई भगवान विष्णु बस्नु भएकाले बराह क्षेत्र नाम रहन गएको धार्मिक विश्वास रहेको छ ।