५ कारण: जसले गर्दा पतन भए ब्रिटेनका शक्तिशाली प्रधानमन्त्री जोनसन

BBC

२३ असार, लण्डन–बीबीसी । सन् १९८७ यता कन्जर्भेटिभ पार्टीलाई बोरिस जोनसनले निर्वाचनमा सबैभन्दा प्रभावशाली रूपमा जिताएको तीन वर्ष पनि पुगेको छैन।
तर अहिले उनले आफ्नै सांसदहरूको समर्थन गुमाएका छन्। उनले दलको नेताबाट राजीनामा घोषणा गरेका छन्। उनी यो अवस्थामा कसरी पुगे त ?

क्रिस पिन्चर प्रकरण
सांसद तथा कन्जर्भेटिभ पार्टीका तत्कालिक सहायक मुख्य सचेतक क्रिस पिन्चर जुन २९ मा लन्डनस्थित एउटा निजी क्लबमा पुगे। त्यहाँ उनले उनकै शब्दमा निकै मदिरा पिए र आफैँलाई लाजमर्दो हुने काम गरे। उनलाई दुई पुरुषमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो।

त्यसपछि वर्षौँअघिका घटनासँग सम्बन्धित कैयौँ आरोपहरू थपिए। त्यसपछि विकसित घटनाक्रम प्रधानमन्त्री जोनसनको पतनको कारण बन्यो। डाउनिङ स्ट्रीटले गत फेब्रुअरीमा पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गर्नुअघि उनीविरुद्ध लागेका निश्चित आरोपबारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री जोनसनले बताए।

यौन दुर्व्यवहारको आरोपपछि अघिल्लो हप्ता क्रिस पिन्चर निलम्बित भएका थिए । मन्त्रीहरूले पनि त्यही धारणा दोहोर्‍याए। तर त्यो गलत भएको प्रमाणित भयो। जुलाई ४ गते बीबीसीले जोनसनलाई औपचारिक उजुरीबारे जानकारी रहेको खबर प्रकाशित गर्‍यो।

त्यसको एक दिनपछि एक भूतपूर्व सरकारी कर्मचारी लर्ड म्याक्डोनल्डले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा नै त्यो उजुरीबारे जानकारी गराइएको बताए। प्रधानमन्त्री जोनसनले आफूलाई सन् २०१९ मा त्यसबारे भनिएको भन्दै पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गरिएकोमा माफी मागे।

भोज प्रकरण
यसै वर्षको अप्रिलमा प्रधानमन्त्रीलाई लकडाउनको समयका नियमहरू भङ्ग गरेकोमा जरिवाना गराइएको थियो। जुन २०२० मा आफ्नो जन्मदिनका अवसरमा आयोजित एउटा भोजमा उनी सहभागी भएका थिए।

पहिलो लकडाउनमा आफ्नो लागि आफैँ मदिरा लिएर आउनू भन्ने सन्देशसहित डाउनिङ स्ट्रीटको बगैँचामा आयोजना गरिएको भोजमा सहभागी भएकोमा पनि उनले माफी मागेका थिए। प्रधानमन्त्री जोनसनमाथी पार्टीगेट प्रकरणमा अहिले पनि संसद्को कमिटीले छानविन गरिरहेको छ ।

मेट्रोपोलिटन प्रहरीले ८३ जनालाई डाउनिङ स्ट्रीट र ह्वाइट हलमा लकडाउनसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२६ वटा जरिवाना गराएको थियो। एक वरिष्ठ सरकारी अधिकारी सू ग्रेको प्रतिवेदनले राजनीतिक कर्मचारीले शृङ्खलाबद्ध रूपमा सामाजिक गतिविधि गरेको उल्लेख गरेको थियो।

उनले लेखेकी थिइन्, केन्द्रमा रहेका वरिष्ठ राजनीतिक तथा निजामती नेतृत्व दुवैले यसको जिम्मेवारी लिनुपर्छ। गत डिसेम्बरमा जोनसनले हाउस अफ कमन्समा नम्बर १० मा सबै मार्गनिर्देशनहरूको पालना गरिएको बताएका थिए। संसदीय समितिले अहिले जोनसनले जानीजानी संसद्लाई ढाँटेको हो वा होइन भन्ने विषयमा छानबिन गरिरहेको छ।

जीविकोपार्जनमा सङ्कट र करवृद्धि
यो वर्षको सुरुदेखि नै महँगी चुलिन थालेको छ। अहिले मुद्रास्फीति ९.१ प्रतिशत छ। धेरै कुरा बोरिस जोनसनको नियन्त्रणबाहिर थियो। उदाहरणका लागि, रुसले युक्रेनमाथि गरेको आक्रमणले तेलको र खानेकुराको मूल्य बढाएको छ। तर सरकारले केही प्रयासहरू पनि गरेको छ।

उदाहरणका लागि, इन्धनमा लगाइएको कर प्रतिलिटर पाँच पेन्सले घटाइएको थियो र अप्रिलमा कर बढाइँदा पनि त्यसलाई निरन्तरता दिइएको थियो। न्याश्नल इन्स्योरन्स पाउन्डको दरमा १.२५ पाउन्डले बढेको थियो। सरकारले करवृद्धिबाट स्वास्थ्य र सामाजिक सुरक्षामा सहयोग पुग्ने बताएको थियो।

तर यो साता भएको परिवर्तनले धेरैलाई प्रभावित पारेको छ। एक वर्षमा ३४ हजार पाउन्डभन्दा धेरै कमाउने प्रत्येक व्यक्तिले थप तिर्नुपर्ने नियम ल्याइएको थियो। जीवनयापन गर्ने खर्च धान्न एकदम नराम्रो सङ्कट उत्पन्न भएको बेला सरकारले गरिखाने वर्गमाथि थप कर लगाउने बाटो रोज्यो, लेबर नेता सर कीअर स्टार्मरले अप्रिलमा बताएका थिए।

ओवन प्याटरसन विवाद
सन् २०२१ को अक्टोबरमा हाउस अफ कमन्सको समितिले तात्कालिक कन्जर्भेटिभ सांसद ओवन प्याटरसनलाई ३० दिन निलम्बन गर्ने निर्णय गरेको थियो।
उनले लबिङसम्बन्धी नियम उल्लङ्घन गरेको र आफूलाई रकम दिने कम्पनीहरूलाई लाभ गराउने प्रयास गरेको भनाइ उक्त समितिको थियो।

तर प्रधानमन्त्रीको नेतृत्वमा कन्जर्भेटिभहरूले उनको निलम्बनलाई स्थगन गर्ने पक्षमा मतदान गरे। उनीहरू कसरी अनुसन्धान अघि बढाइयो भन्ने जाँच गर्न नयाँ समिति गठन गर्ने पक्षमा उनीहरू उभिए। चर्को विरोध भएपछि प्याटरसन राजीनामा दिन बाध्य भए। प्रधानमन्त्री जोनसनले आफू उक्त घटनामा चुकेको पछि स्वीकार गरेका थिए।

ध्यान र सोचको अभाव
बोरिस जोनसनले प्रभावशाली जित हासिल पार्दा उनको स्पष्ट र सजिलो नीति थियोः ब्रिटेनलाई युरोपेली सङ्घ ईयूबाट अलग्ग्याउनु।

उनका आलोचकहरूका त्यसपछि डाउनिङ स्ट्रीटमा विचार र ध्यानको अभाव भयो। कुनै बेला उनका सल्लाहकार रहेका र पछि आलोचक बनेका डोमिनिक कमिङ्सले जोनसनलाई बारम्बरलाई एकै ठाउँमा अडिन नसक्ने अनियन्त्रित मनस्थिति भएको व्यक्तिू को सङ्ज्ञा दिने गरेका छन्।

अरूले पनि प्रधानमन्त्रीको दर्शन छ कि छैन भनेर समेत प्रश्न उठाएका थिए। गत जुन महिनामा कन्जर्भेटिभ सांसद र पूर्वमन्त्री जेरमी हन्टले जोनसनसँग ूनिष्ठा, क्षमता र दृष्टिकोणु नभएको आरोप लगाएका थिए। विश्वासको प्रस्तावमा मतदान हुनुअघि उनले त्यस्तो टिप्पणी गरेका थिए।

मतदानमा जोनसन जोगिए पनि उनीविरुद्ध गुनासाहरू बढ्दै गएका थिए। कन्जर्भेटिभ पार्टीले उपचुनावमा निरन्तर पराजय खेप्नुपर्‍यो। पछिल्लो परिणामपछि जोनसनले आफूले मनोवैज्ञानिक रूपान्तरण नगर्ने बताएका थिए। तर अहिले त्यो नै कन्जर्भेटिभ सांसदहरूका लागि चिन्ताको विषय बन्न पुग्यो। उनीहरूले आफ्नो धारणा राखेका छन् र जोनसन अब पदबाट हट्न लागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here