विवादकाबीच बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, चुक्ता पूँजी ७५ करोडको हुनै पर्ने

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ ।

बीमा क्षेत्रको नियामक निकाय समितिले भदौ १० गते एक सूचना जारी गर्दै बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो ।

बीमा क्षेत्रको नियामक बीमा समितिले ७ वटा जीवन र ४ वटा निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव आह्वान गरेको छ ।

इजाजतपत्र खुलाउने प्रयोजनका लागि समितिले गत सोमबार ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका, २०७९’ समेत जारी गरेको थियो ।

लघुबीमाको लाइसेन्स लिन इच्छुकले ३५ दिन भित्र आवेदन दिन समितिले आह्वान गरेको छ । एक प्रदेशमा एउटा मात्र जीवन वा निर्जीवन कम्पनीले लाइसेन्स पाउने समितिले जनाएको छ ।

प्रस्तावित लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ ।

प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा दुवै प्रस्ताव गर्न सकिनेछ ।

प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानी कर्ताको रूपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्व समेत खुल्ने विवरण उल्लेख गर्नुपर्नेछ

प्रस्तावित संस्थापकहरूले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइनेछैन ।

प्रस्तावकले प्रस्तावित लघुबीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ तथा लघुबीमा दर्ता निर्देशिका २०७९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्नेछ ।

प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौँ उपत्यका बाहिर प्रदेश स्तरमा रहनुपर्नेछ । छनोट भएका प्रस्तावहरू मध्ये बीमा समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ ।

कम्पनीमा लगानी गर्न हस्ताक्षर गर्ने लगानीकर्ताले आफू कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ र आर्थिक वर्ष २०७७ ०७८ को करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here