डलर भन्दा सस्तो बन्यो यूरो, रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा सोझो प्रभाव

काठमाडौं, १३ भदौं । यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ ६२ पैसा कायम भएको छ । अर्कोतर्फ, अमेरिकी डलरको भाउ भने १२८ रुपैयाँ ९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार युरोको खरिददर भने १२७ रुपैयाँ २ पैसा र डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा रहेको छ ।

१ साउन २०६५ मा डलरको अनुपातको यूरो सबैभन्दा महँगो भएको थियो । त्यसबेला डलरको भाउ ६९ रुपैयाँ थियो भने युरोको विनिमयदर १११ रुपैयाँ पुगेको थियो । २०५६ पुसदेखि २०५९ मंसिरसम्ममात्रै यूरोको भाउ डलरभन्दा सस्तो भएको थियो ।

रुस९युक्रेन युद्ध र कोभिड पछाडिको आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र यूरो घट्ने भइरहेको छ।

महाद्धीपमा मन्दीको प्रचुर मात्रामा डर र उच्च मुद्रास्फीति तथा युक्रेनमा रूसको आक्रमणको कारण ऊर्जा आपूर्ति अनिश्चितताको कारण युरोको भाउ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमै डलर युरो भन्दा बलियो बनेको छ । अमेरिकी फेडरल रिजर्भ बैंक अध्यक्ष जेरोम पावेलले आइतबार मुद्रास्फिति नियन्त्रणका लागि ब्याजदर थप बढाउने बताएपछि डलरको भाउ आकाशिएको छ । पावेलको घोषणापछि युरोको भाउ ०.३% ले घटेर प्रतिडलर ०.९९ कायम भएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रुपैयाँ २७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १४९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९ पैसा तोकेको छ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली बसिरहेका छन् । यूरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा असर पर्नेछ ।

त्यसको सोझो प्रभाव रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रमा पर्न जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here