हरायो गाइजात्रे प्रहसन, किन मर्यो कलाकारको हास्यव्यंग सिर्जना ?

काठमाडौं, ३१ साउन । आजबाट शुरु भयो गाइजात्रा पर्व । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुरुवातको दिन आज देशभर विभिन्न कार्यक्रम संचलन हुन्छन् ।

खासगरी एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराउने प्रचलनका रुपमा यसको महत्व रहेको छ ।

गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न, द्रव्यजस्ता वस्तु दान गरी दिवंगतले उक्त वस्तु प्राप्त गर्ने मान्यता रहेको छ ।

राजा प्रताप मल्लको पालादेखि यो जात्रा शुरु भएको मानिन्छ । पत्र शोकमा डुबेकी रानीलाई सान्त्वना दिन सबै जनताले आफ्ना दिवंगत आफन्तका नाममा गाइजात्रा निकाल्ने प्रचलन राजाले चलाएका थिए ।

यस दिनको महत्व जति धार्मिक रुपमा छ, सामाजिक रुपमा पनि त्यति नै रहेको छ । किनकी सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शनको छूट यस पर्वका अवसरमा दिइएको छ ।

यो छूट राजामहाराजाकै पालमा पनि दिइएको थियो । निरंकुश शासकहरुले पनि वर्षको एक दिन समाजका विकृतिबारे कलाकारलाई खुलेर व्यग्य गर्ने छूट दिएका थिए । सोहीकारण काठमाडौंदेखि विभिन्न शहरमा गाइजात्राको छुट्टै माहौल हुन्थ्यो ।

पुस्तक, क्यासेट, रेडियो, पत्रपत्रिका मात्र होइन, प्रत्यक्ष रुपमा हल बुक गरेर एक सातासम्म भरिभराउ हलमा गाइजात्रे प्रहसन र प्रदर्शनी हुने गरेका थिए ।

महजोडीलाई चम्काउने माध्यम
महजोडीलाई प्रारम्भ देखि नै नेपाली हास्य व्यंग्य जमातमा चम्काउने श्रेय गाइजात्रे प्रहसनलाई जान्छ । उनीहरुले मौलिक नेपाली समाजका विकृतिलाई टपक्क टिपेर कलामार्फत व्यंग्यात्मक शैलीमा सबैका सामु देखाइदिन्थे ।

यसलाई पछि आउने कलाकारले पनि निरन्तरता दिए । नेपालमा धेरै हास्यव्यंग्य कलाकार उत्पादनमा गाइजात्रे प्रहसनको ठूले भूमिका रहेको छ ।

देशमा गणतन्त्र स्थापना हुनुपूर्व देशमा चरण युद्धको समयमा पनि गाइजात्रे प्रहसन उत्तिकै लोकपिय थियो । तत्कालिन विद्रोही नेताहरु सार्वजनिक भएको, राजाले भर्खरै दरवार छाडेको समयमा पनि गाइजात्रे प्रहसन निकै उचाईमा पुग्यो ।

तर, जब संविधानसभाको निर्वाचनबाट देशमा गणतन्त्र संस्थागन हुन थाल्यो, त्यसपछि भने हास्यव्यंग्य प्रहसन सुस्तायो । लाग्छ, गणतन्त्रमा समाजमा कुनै विकृति नै छैनन् । कलाकारले अब कसैमाथि झटारो हान्नै पर्दैन् ।

अहिले हलहरु सुनसान छन् । हल बुक गरेर धुमधाम तयारी गरेपनि दर्शकले नेपाली कलाकारलाई पत्याउन छाडेका छन् । कलाकारको शैली दर्शकलाई फिका लाग्न थालेको छ ।

गुणस्तरीय भारतीय सामग्रीको प्रभाव
अब जनतालाई हसाउन निकै मुस्किल छ । विगतमा भारतीय टेलिभिजनको प्रभाव परिसकेको थिएन । किनकी सबैको घरघरमा टिभि र इन्टरनेटको सुविधा उपलब्ध थिएन् ।

त्यसकारण नेपाली कलाकारको शैली उनीहरुका लागि मौलिक लाग्थ्यो । नेपाली कलाकारसँग अब्बल दर्जाको मौलिकता छैन् । उनीहरु कतै न कतै भारतीय कलाकारबाट प्रभावित छन् । कतिपय रियालीटी शो ठ्याक्कै भारतीय कार्यक्रमबाटै नक्कल गरिएको छ ।

यस्तोमा नेपालमा भन्दा अब्बल दर्जाको सामग्री हेरिसकेका दर्शकलाई नेपाली कलाकारको नक्कली अभिनय किन हेर्नु भन्ने पनि लाग्न सक्छ ।

अर्कोतर्फ नेपाली कलाकारले आफूलाई समय सापेक्ष परिवर्तन गर्न सकेनन् । हिजो राजाविरुद्ध एक स्वरले लड्ने कलाकार आज गणतन्त्रमा पार्टीका अगुवा पछुवा भए । त्यसकारण उनीहरु खुलेर आफ्नो नेताको विरोध गर्न सक्दैनन् । जसले गर्दा कलाकारले आफ्नो सिर्जना नै मार्न बाध्य भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here