‘अपरिचित व्यक्तिलाई बैंकिङसम्बन्धी कुनै पनि विवरण नदिनू’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीका उपकरणबाट हुने ठगी धन्दाबाट सजग हुन अनुरोध गरेको छ ।

अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ‘वान टाइम पासवर्ड’ (ओटिपी) र निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेजजस्ता विवरण माग्ने गरेको राष्ट्र बैंकले जनाएको छ।

साथै अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कनेक्ट आइपिएस वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पावर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पर्‍याई खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढेकाले सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको हो।

‘ठगीबाट जोगिन अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।

कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सोको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउनुहुन वा यस बैंकको इमेलमा जानकारी गराउनु हुन सूचित गरिन्छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा छ।

साथै भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूले यस्ता अवान्छित गतिविधिलाई सुक्ष्मरूपमा निगरानी गर्नसमेत राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आग्रह गरेका छन्।

कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन पनि सुसूचीत गराएको छ ।

त्यस्तै, यस्ता गतिविधि थाहा भएमा राष्ट्र बैंकको इमेल ठेगाना gunaso_psd@nrb.org.np मा जानकारी गराउन पनि भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here