काठमाडौं । अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
सडकको पहिारो हटेपछि तीन बजेदेखि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।
यी ठाउँमा पहिरोको उच्च जोखिम
निरन्तर पहिरो खसिरहँदा पन्छाउन समेत समस्या हुने गरेको छ । भित्ता कटानका क्रममा बनेका अग्ला डाँडा र यसअघि नै भएका अग्ला पहाडमाथिबाट ठूला ढुंगासहित पहिरो खस्दा सडक खुलाउन कठिन हुने गरेको छ । जसकारण हजारौं सवारीसाधन र यात्रु बीचबाटैमा अलपत्र पर्ने गरेका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ ।
पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ ।
सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । पछि पहिराले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गरेका ई शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै ७०० मिटर लम्बाइ क्षेत्र पहिरामा संरचना बनेकाले चलायमान छ ।
यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेको खनालले जानकारी दिए । सो सडकको ४ किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।
यस्तै सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।