चिया खेतीबारे नेपालमा अब शिक्षण संस्थामा औपचारिक पढाई हुने

काठमाडौं । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी शिक्षण संस्थामा औपचारिक पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले जानकारी दिएका छन् ।

चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।

‘यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरुमा चिया प्रविधि सिकाइको अभ्यास हुने बताइएको छ । यसैवर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई यो शिक्षामा सहभागी गराउने लक्ष्य रहेको बताइएको छ ।

२० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधिमा समावेश गराइने बताइएको छ । चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले विनाखर्च अध्ययन गर्न पाउनेछन् ।

नेपालमा विसं १९२० मा इलामबाट चिया रोपण कार्य सुरु भएको इतिहास छ । तर, अहिलेसम्म देशभरमै कतै पनि चियासम्बन्धी पढाइ भएको छैन ।
गोरखापत्रको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here