यी हुन् गर्मीमा तातो हावा ‘लू’ बाट जोगिने उपायहरू

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ।

गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ। शनिवार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । आजभने केही घटेको छ ।

अत्याधिक गर्मीका कारण सबैभन्दा बढी तराईको जनजीवन प्रभावित भइरहेको छ।

विशेषगरी तराईका जिल्लामा तातो हावाले जनजीवन प्रभावित गरिरहेको हुन्छ । लामो समयसम्म अत्यधिक तापक्रममा बस्दा ‘लू’ लाग्ने खतरा हुन्छ ।

मानिस हिँड्दा, काम गर्दा वा खेल्दा तातो हावा तथा घामको असरले मुर्छा पर्ने वा बेहोस हुने हुन्छ । लू लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ ।

यी हुन् लू बाट जोगिने उपायहरू

– दिउँसो घरबाट बाहिर ननिस्कने

– चिसो पानीले नुहाउने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

– बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

– मदिरा सेवन नगर्ने

– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

यसका असरहरु

– हृदयको गति तीव्र हुने

– श्वासप्रश्वास र रक्तचाप कम हुने

– शरीरबाट पसिना ननिस्कने

– टाउको अत्यधिक दुख्ने

– चक्कर लाग्ने, अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

– छाला सुक्खा, रातो र तातो हुने

-एजेन्सी