हेपाटाइटिसबाट प्रत्येक वर्ष १० लाख मानिसको मृत्यु, कसरी बच्ने ?

काठमाडौं । विश्व हेपाटाइटिसविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया आयोजना गरी मनाइँदै छ ।

कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउँछन् ।

“नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ”, डा. केसी भन्छन् ।

के हो हेपाटाइटिस ?

हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।

कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ ।

हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।

भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ ।

रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक संक्रमणणबाट समेत सर्दछ । सीको संक्रमणधेरै लागुपदार्थ दुर्व्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी संक्रमणित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्छ ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस संक्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र इभन्दा बी र सीको संक्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ संक्रमणित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लूएचओको अनुमान छ ।

विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।

हेपाटाइटिसबाट कसरी बच्ने ?

चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा. शर्माको सुझाव छ ।

उनी भन्छन्, “हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ ।” उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।

हेपाटाइटिसको उपचार

“आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ”, डा .केसी भन्छन्, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।”

डा. केसी जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताउँछन् । उनका अनुसार हेपाटाइटिस ‘ए’ र ‘इ’ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी संक्रमणहुने गर्छ ।

हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनी भन्छन्, “औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।” सी र एचआइभीको संयुक्त संक्रमणहुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ ।

डा. शर्मा भन्छन्, “हेपाटाइटिस बी संक्रमणधेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके संक्रमणफैलिनलाई रोक्न सहयोग पुग्छ ।”

हेपाटाइटिस ‘ए’ र ‘इ’ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । ‘सी’को औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा हेपाटाइटिसको समस्या

सरकारसँग यकिन तथ्यांक नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ ।

“हेपाटाइटिस ‘बी’को एक प्रतिशतभन्दा कम छ । कुनै–कुनै ठाउँमा धेरै छ । जस्तै मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ”, डा. केसी भन्छन्, “हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस ‘बी’को संक्रमणधेरै देखिन्छ ।”

चिकित्सकहरू हेपाटाइटिससम्बन्धी सरकारले जनस्वास्थ्यको कामका रूपमा राख्न आवश्यक भएको बताउँछन् । डा. शर्मा भन्छन्, “जसरी एचआईभीलाई महत्त्व दिइन्छ, यसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नुपर्छ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here