संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भूमिका खेलेकाका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताए।

उनले भने, ‘माननीय सदस्यहरु अब म संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकोमा निम्निलिखित शोक प्रश्ताव प्रश्तुत गर्दछु।

संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते मंगलवार हृदयघातबाट भएको निधनले सिंगो मुलुक स्तब्ध बनेको छ। लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान

निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको छ। स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य,२०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो।

साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६४ र २०७० को संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो। यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति हुनुभएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो। संविधान सभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भुमिका रहेको थियो। यो बैठक स्व. नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ। उक्त शोक प्रश्तावलाई पारित गरिदिन अनुरोध गर्दछु। माननीय सदस्यहरु उपरोक्त शोक प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’

प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते शुक्रबार १ बजे बस्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here