‘सरकारले चालेका सुधारका प्रयासले अर्थतन्त्रमा सकारात्मक परिणामहरु देखिन थाले’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले गरेको प्रयासहरुबाट अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताएका छन् । बुधबार मन्त्रालयमा वर्तमान आर्थिक अवस्था बारे जानकारी दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मैले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले क्रमशः कार्यान्वयनका क्रममा रहेका छन । सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको छ।

स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको छ जसमा चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको छ। यस व्यवस्थाले आयोजनाको प्राथमिकिकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ। त्यसै गरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ,’ उनले भने ।

उनले सरकारले अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरेको जानकारी दिए । जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न नयाँ व्यवस्था गरिएको उनले बताए ।

जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको उनले बताए ।

पछिल्लो समय राजस्व परिचानलमा क्रमशः सुधार भएको उनले बताए । बजेट मार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको उनको भनाइ छ । सरकारले कर प्रणालीमा सुधारका लागि उच्च स्तरीय समिति गठन गरी समितिले काम गरिरहेको उनले बताए ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको उच्च स्तरको निरन्तर छलफल र समन्वयवाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएकाले सकारात्मक प्रभाव देखिन थालेको अर्थमन्त्री डा. महत्तले बताए । हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको उनले बताए ।

सरकारले सार्वजनिक संस्थान सुधारका लागि गृहकार्य गरिरहेका बताए । निजीकरण समितिलाई क्रियाशिल बनाई काम अगाडि बढाइएको छ। सम्मानीय प्रधानमन्त्री, अर्थमन्त्री, निजी क्षेत्र, अर्थविद र सरोकारवालासँग पटक पटक अन्तक्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको उनले बताए ।

सकारात्मक परिणामहरु देखिन थाले

अर्थमन्त्री महतले सरकारले चालेका कदम र सुधारका प्रयासले आर्थिक क्रियाकलापहरु क्रमशः चलायमान भएको बताए । यस अवधिमा पूँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको छ। त्यसैगरी भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करीब ७.१९ प्रतिशत, आयकरतर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर भएको उनले जानकारी दिए ।

मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित हुँदै जाने उनले बताए । घरजग्गा र सयर कारोबार बढ्न थालेको बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको उनले बताए ।

अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेको उनले बताए । २०८० असोज मसान्तसम्म चालु खाता रु ५९ अर्ब, शोधानन्तर ९९ अर्ब बचतमा रहकेो उनले जानकारी दिए । त्यस्तै, १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको, विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्थामा रहेको उनले बताए ।

चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिलेसम्मकै उच्च हो। चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here