काठमाडौं-तराई/मधेश द्रुतमार्गमा सकियो ५२ अर्ब ८६ करोड, भौतिक प्रगति भने २८.५६ प्रतिशत

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण सुस्त गतिमा रहेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको छ ।

यो आयोजना २१ वैशाख २०७४ मा नेपाल सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी एवं योजना तथा डिजाइन महाशाखा प्रमुख भरतलाल श्रेष्ठले उक्त विवरण पेस गरेका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा पनि उपस्थित थिए ।

२०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुतमार्ग निर्माण कार्यको शुभारम्भ गरेका थिए ।

परिमार्जित विस्तृत आयोजना प्रतिवेदनअनुसार द्रुतमार्गको लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । ६ स्थानमा सुरुङमार्ग बन्दैछ । सुरुङमार्गको लम्बाइ १०.०५५ किलोमिटर रहेको सेनाले जनाएको छ ।

देवीचौर १ किलोमिटर, सिसौटार ०.३९ किलोमिटर, चन्द्राम भीर २.२५ किलोमिटर, महादेवडाँडा ३.३५५ किलोमिटर, धेद्रे १.६३० किलोमिटर र लेनडाँडा १.४३ किलोमिटर लामो रहेका छन् ।

आयोजनामा कुल ८९ वटा पुल बन्ने छन् । जसको लम्बाइ १२.८८५ किलोमिटर हुन आउँछ । आयोजनामा दुई स्थानमा विश्राम स्थल र ३ स्थानमा इन्टरचेन्ज रहने छन् । टोल प्लाजा ३ स्थानमा रहने यो आयोजना निर्माण सम्पन्न भएपछि काठमाडौंबाट निजगढको यात्रा १ घण्टा २ मिनेटमा छोटिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here