निजीक्षेत्र अझै पूर्वाधारमा लगानी गर्नसक्ने अवस्थामा पुगेको छैन : डा. भट्टराई

नेपाल पूर्वाधार सम्मेलन सुरु

काठमाडौं, २५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजीक्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र सरकारले संयुक्तरुपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०१९ मा बोल्दै उनले द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे ।

अहिले काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तिमा तराइ मधेशसँग जोड्नुपर्ने भन्दै डा. भट्टराईले तराइ क्षेत्रमा सहरीकरण बढाउन सकिने धारणा राखे । उनले अन्य पुर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामथ्र्य बनाइनसकेको पनि बताए । ‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पूर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’

तराइमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोशी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने नेता भट्टराईले बताए ।

‘बजारको निर्माण गर्न सडक सञ्जालमा सरकारले लगानी गरिदिएपछि निजी क्षेत्रले वस्तु र सेवाको उत्पादन गरेर राजश्व बढाउने आधार तयार गरिदिनुपर्छ,’ उनले भने । उनका अनुसार कम्तिमा विकासोन्मुख अर्थतन्त्रमा स्तरोन्नती हुन नसक्दासम्म सरकारले नै पूर्वाधारमा लागनी गर्नुपर्ने अवस्था छ ।

अहिले विश्व चौंथो औद्योगिक क्रान्तिको चरणमा रहे पनि नेपालले अझै पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको डा. भट्टराईको धारणा थियो । अहिले पनि निर्वाहमुखि कृषिमा आधारित अर्थतन्त्र भएकाले यसलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने उनको तर्क छ ।

भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय कनेक्टिभिटीमा ध्यान दिनु पनि उनले सुझाएका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए । डुइङ विजनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा सरकार लागेको पनि उनले जानकारी दिए ।

‘भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेका छन्,’ उनले भने ।

कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्येनजर गरेर रेसिलियण्ट पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नै संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पुर्वाधार विकास लाग्न आग्रह गरे ।

ज्ञान, सीप, पैसा र प्रविधी लगानी गर्न सरकार र निजी क्षेत्रले सामुहिक प्रयास गर्नसक्ने उनको भनाइ थियो । नविन प्रविधीको उत्पादन र उपयोग गर्नुका साथै यातायात पूर्वाधार र शैक्षिक क्षेत्रमा लगानी बढाउन उनले सुझाए ।

कार्यक्रममा सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व राजश्वसचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here