यी हुन नेपाली कांग्रेसले देखेका अर्थतन्त्रका चुनौतीहरू

सरकार अहिलेको अर्थतन्त्रसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्न क्रियाशील रहेपनि समस्या अझै यथावत रहेको नेपाली कांग्रेसले जनाएको छ । ललितपुरमा सम्पन्न नेपाली कांग्रेसका उपसभापति एंव उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गरेको दस्तावेजमा विभिन्न चुनौति रहेको उल्लेख गरेका छन् ।

 मुलुकभित्र मर्यादित रोजगारीको अभावमा नेपाली श्रमशक्ति व्यापक रूपमा विदेशी श्रमबजारमा जानु पर्ने अवस्था छ । शिक्षा र व्यावसायिक तालिममा पहुँच नभएका कारण सीप नभएका, सीप सिकेका तर बजारको माग अनुसार नभएका श्रमशक्तिको अनुपात उल्लेख्य भएकाले अर्ध र पूर्ण बेरोजगारी हुने समस्या छ । यी यावत कारणले अहिले प्रत्येक बर्ष नेपाली श्रम बजारमा आउने हाम्रा युवा श्रम शक्तिलाई मर्यादित रोजगारीका अवसरहरू सिर्जना गर्न सकिरहेका छैनौँ ।

 आन्तरिक बसाइँ सराइले पहाडी जिल्लाहरूमा तीव्र रूपमा निर्जनीकरण भएको छ तथा ग्रामीण पेशा महिलाहरूले मात्रै धान्ने क्रम बढेको छ ।

 शिक्षा, स्वास्थ्य र रोजगारीमा असमान पहुँचले गर्दा नेपाली नागरिकहरूबीच विद्यमान तथा बढ्दै गएको अर्थ–सामाजिक असमानताले मुलुकभित्र असन्तोष बढ्ने र अस्थिरता बढाउने जोखिम बढ्दो छ । अति गरीब, सीमान्तकृत, दलित, थारु, महिला, आदिवासी, जनजाति, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पछाडि पारिएका वर्ग, समुदाय र क्षेत्रको आर्थिक सामाजिक असमानताको समस्याको सवाल पेचिलो बन्दै गएको छ ।

 आर्थिक तथा शासकीय सुशासनको अभावले जनतामा लगानी गर्ने उत्साह कम भएको छ र यसले समग्र आर्थिक वातावरण बिथोलेको छ

 आधाभन्दा बढी श्रमशक्ति कृषिमा आश्रित रहे पनि यस क्षेत्रको उत्पादकत्व खासै बढेको छैन र यस क्षेत्रलाई सहयोगी हुने कार्यक्रमहरू (जस्तै तटबन्ध, सिञ्चाइ, बीऊविजनको सुलभ उपलब्धता, बजारमा पहुँच) प्रभावकारी हुनसकेका छैनन्, जसले गर्दा मुलुकको समग्र गरीबी अपेक्षा गरिए अनुरूप द्रुत गतिमा घट्न सकेको छैन ।

 सङ्घीयताको कार्यान्वयनमा देखा परेका कतिपय समस्याले प्रदेश र स्थानीय सरकारहरूले अनुमान गरे अनुसार राजस्व उठाउन सकेका छैनन् र खर्च पनि गर्न सकेका छैनन् । सरकारी सेवा चुस्त रूपमा प्रदान गर्न सकेका छैनन् । यसले गर्दा सङ्घीयतामा जनताको प्रतिबद्धता बढाउन अझै मेहनत गर्नुपर्ने स्थिति छ ।

 सार्वजनिक सम्पत्तिको जगेर्ना गर्न नसक्दा भविष्यमा मुलुकको राजस्वको कमी हुने र केही व्यक्तिको हातमा राज्यको सामुदायिक सम्पत्ति जाने जोखिम छ ।

 एकातिर सरकारको ऋण बढ्दै गएको र त्यसमा उच्च व्याज दरको स्वदेशी अल्पकालीन ऋणको अनुपात बढेकाले सरकारले भुक्तानी गर्नु पर्ने साँवा ब्याज बढेको छ, अर्कोतिर यही बेला बिभिन्न कारणले राजस्वको बृद्धिदर कमजोर भएकाले वित्त क्षेत्रमा अस्थिरताको जोखिम सिर्जना भएको छ ।

 जथाभावी स्रोत सुनिश्चितता दिएर शुरु गरिएका खर्बौँका अलपत्र आयोजना लामो समयसम्म सम्पन्न हुन सकेका छैनन् । यी आयोजनाको लागत बढेको छ । सार्वजनिक ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्न नसक्नुले अनुत्पादक ऋण बढदै गएको छ । विकास आयोजनाहरू समयमा सम्पन्न नगरी बजेट खर्च गर्न नसकेर आयोजनाहरूबाट प्रतिफल समयमा नै प्राप्त नहुँदा जनतामा निराशा बढेको छ भने विगतको यो अव्यवस्थाले गर्दा निर्माण व्यवसायीलाई भुक्तानी दिन अझै बाँकी छ ।

 उत्पादनमूलक क्षेत्र कमजोर बनेको छ । यस क्षेत्रको विस्तारको अभावमा कृषिबाट श्रमशक्ति विस्थापित भएर जाने अर्को दिगो र भरपर्दो क्षेत्र बनेको छैन । अर्थतन्त्र सेवा क्षेत्रमा बढी निर्भर हुँदै गएको छ, जसले गर्दा आर्थिक बृद्धिको स्थिरतामा ढुक्क हुन सकिएको छैन । दूध, माछा, मासु, फलफूल, महआदि कृषि उपजहरुले सही बजार नपाउँदा हाम्रा किसानहरु आर्थिक मर्कामा परेका छन् ।

 मुलुकबाट बाहिरिएको श्रमशक्तिले पठाएको विप्रेषण नेपालको अर्थ व्यवस्थाको वैदेशिक मुद्रा आर्जन गर्ने एउटा प्रमुख स्तम्भ भएको छ । वैदेशिक मुद्रा आर्जनका स्रोतहरूमा विविधीकरण (पर्यटन, निर्यात आदि) नहुँदा यो सधैँ जोखिमयुक्त रहने छ । विप्रेषणले वाह्य क्षेत्र राम्रो देखाए पनि पछिल्लो समयमा विप्रेषण उत्पादनशील क्षेत्रमा लगाउन नसक्नु, आयात बढेर व्यापार घाटा बढदै जानु, मुलुकको राजस्वको ठूलो अंश आयातमा आधारित हुनु आदिले हाम्रो अर्थतन्त्र दरिलो हुन दिएको छैन ।

 नेपालको उद्योग व्यवसायलाई दिगो रूपमा विकास गर्न अपर्याप्त नीतिगत, संरचनागत र अस्थिर राजनीतिक माहोलले स्वदेशी एवं विदेशी लगानी नबढ्नु, बजारमा स्थानीय औद्योगिक तथा अन्य क्षेत्रको उत्पादनको माग घटेर उद्योग व्यवसाय विस्तार नहुनु, साना तथा मझौला व्यवसायीहरू आर्थिक समस्यामा पर्नु लगायतका समस्याले अर्थतन्त्रको खुट्टालाई दौडन नदिई बाँधेका छन् ।

 सरकारी सेवा प्रवाहमा विद्यमान समस्याको कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उत्पादकत्व, रोजगारी र आर्थिक सुशासनमा ठूलो नकारात्मक प्रभाव परेको छ । सुशासनको कमीले देशमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो भएको अनुमान गरिएको छ । यी सबै कारणले सरकारको सेवा प्रवाहको आलोचना भएको छ र युवामा निराशा बढाएको छ ।

यस्तै, संविधानले मार्गनिर्देशन गरेका धेरै आर्थिक सामाजिक लक्ष्यहरू हासिल गर्नका लागि यथाशक्य प्रयत्न गर्दागर्दै पनि जनताले खोजे जस्तो आर्थिक प्रगति हुन सकेको छैन । मर्यादित रोजगारी खोज्ने तथा स्वरोजगारी गर्ने वर्गको गुनासो जायज छ । मर्यादित रोजगारीका अवसरहरू नहुनाले नेपालको मानवपूँजी (श्रमशक्ति) वैदेशिक बजारमा राम्रो अवसरको खोजीमा जाँदा देशले श्रमशक्ति विकासमा गरेको ठूलो लगानी पनि बाहिरिएको छ । शिक्षित र सीप भएको जनशक्ति बाहिरी बजारमा जाँदा नेपालमा हाल क्रियाशील सबै क्षेत्रको उत्पादकत्व घट्दो क्रममा छ । समग्र उत्पादनको प्रभावकारिता कम हुँदा आन्तरिक अर्थतन्त्रको प्रतिष्पर्धी क्षमता घट्ने र देशलाई दीर्घकालीन असर पर्ने संभावना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here