काठमाडौं,१ चैत । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
नियामक निकायले स्वीकृत दिएपछि मात्रै उक्त सेयर जारी गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो ।
उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत सेयरमा परिणत हुनेछ । यो उपकरणलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ ।
त्यस्तै बैंक सञ्चालक समितिले ८ वर्ष अवधिको लागि ८ प्रतिशत ब्याजदरको नबिल बैंक डिवेञ्चर २०८९ पनि जारी गर्ने प्रस्ताव गरेको छ । अग्रिाधिकार शेयर र डिबेन्चर दुवै जारी गर्न राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ ।

के हो अग्राधिकार शेयर ?
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो ।
यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् ।
अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ ।
अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्रको रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ ।
अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।




















