काठमाडौं । बैंकिङ व्यवसायमा पनि सुधार आएको छ ।नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)को अध्ययन प्रतिवेदन अनुसार यस अवधिमा निक्षेप संकलन ७.२ प्रतिशत अर्थात् ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँले बढेको छ ।
त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि ४.६ प्रतिशतले बढेको छ । चालु वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६१ अर्ब मात्रै कर्जा लगानी भएको थियो ।
चालु वर्षमा बैंकको ब्याजदर लगातार सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरूको १०.४१ प्रतिशत र वित्त कम्पनीहरूको १२.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेको थियो।
त्यस्तै, २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरूको ७.५८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८२ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत कायम भएको थियो।
त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत कायम भएको थियो।
त्यस्तै, २०७९ चैतमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७४ प्रतिशत रहेकोमा २०८० चैतमा ३.०० प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ चैतमा ७.०१ प्रतिशत रहेकोमा २०८० चैतमा ३.१० प्रतिशत रहेको छ