‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र, यी हुन् जोगिने उपायहरू

काठमाडौं । गृह मन्त्रालयले तातो हावाको लहर (लू) बाट नागरिकलाई जोगाउन तयारीमा जुट्न तराई-मधेशका जिल्ला प्रशासन तथा अन्य निकायलाई परिपत्र गरेको छ।

मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो।

लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई-मधेशका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिएको उनले बताए। परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ।

सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ ।

एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेशअनुसार महत्त्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ ।

स्थानीय सञ्चारमाध्यममा दैनिक-साप्ताहिक-अर्धमासिक रूपमा बनाइरहेका कार्यक्रममा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ ।

यी हुन् लू बाट जोगिने उपायहरू

– दिउँसो घरबाट बाहिर ननिस्कने

– चिसो पानीले नुहाउने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

– बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

– मदिरा सेवन नगर्ने

– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

यसका असरहरु

– हृदयको गति तीव्र हुने

– श्वासप्रश्वास र रक्तचाप कम हुने

– शरीरबाट पसिना ननिस्कने

– टाउको अत्यधिक दुख्ने

– चक्कर लाग्ने, अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

– छाला सुक्खा, रातो र तातो हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here