लैङ्गिक अनुपात फराकिलो बन्दै, अर्को पुस्तालाई बेहुली नपाउने समस्या देखिने

काठमाडौं । नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख जाँदा अर्को पुस्ताले विवाहका लागि बेहुली नै नपाउन सक्ने समस्याको चेतावनी दिइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ ।

जसअनुसार हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) छन् । यसमा बालकको तुलनामा बालिका कम छन् । उता, पुरै जनसंख्यामा भने महिलाको संख्या धेरै छ । तर, अहिले भने जनगणना भएको एक वर्षको अवधिमा लैङ्गिक अनुपातः ११२ रहेको छ ।

अर्थातः हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन् । उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार ‘विश्वभर मृत्युदर महिलाको तुलनामा पुरुषको धेरै हुन्छ, त्यसकारण लैङ्गिक अनुपात १०५ सम्म सही मानिन्छ । तर, नयाँ जन्ममा ११२ को लैङ्गिक अनुपात खतराउन्मुख अवस्था हो ।

जन्मजात नै बालक जन्मिरहेको भए त्यसलाई सामान्य लिन सकिन्छ, तर जानाजान छोरी नजन्माउने प्रवृत्ति बढेको भए त्यो डरलाग्दो अवस्था हुने उनको चेतावनी छ । यसले भविश्यमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुने खतरा बढ्ने उनी बताउँछन् ।

प्रदेशगत रुपमा हेर्दा नयाँ जन्ममा सबैभन्दा डरलाग्दो अवस्था मधेश प्रदेशमा देखिन्छ । यस प्रदेशमा हरेक १०० बालिका जन्मिँदा १८ जना बालक जन्मिएका छन् । अर्थातः यहाँ १०० बालिका जन्मिँदा ११८ बालक जन्मिएका छन् । कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ११६ छ । बागमती र गण्डकीमा यो अनुपात १११ छ । कर्णालीमा १०९ देखिन्छ । सबैभन्दा कम कोशी प्रदेशमा १०६ रहेको छ ।

विश्वका विभिन्न मुलुकको प्रवृत्ति हेर्दा चीन र नेपालमा लैङ्गिक अनुपात समान ११२ देखिन्छ । भारतमा १०८, थाइल्याण्ड र दक्षिण कोरियामा १०६, जापान र बंगलादेशमा समान १०५ देखिएको छ । बालक र बालिकाको संख्याको अन्तर बढ्दो हुनु मात्र होइन, अर्कोतर्फ जन्मदर नै ऋणात्मक लागेको छ ।

२०६८ को जनगणना अनुसार शून्यदेखि १७ वर्षसम्मका बालबालिकाको संख्या १ करोड १० लाख हाराहारी थियो । अहिले यो उमेर समूहका बालबालिकाको संख्या ९८ लाख ६९ हजारमा झरेको छ । यसले पछिल्लो १० वर्षमा बालबालिकाको जन्मदर खुम्चिन पुगेको देखिएको छ । अघिल्लो दशकसँग तुलना गर्दा बालबालिकाको जनसंख्या वृद्धिदर –१.१ प्रतिशतले खुम्चिन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here