‘मोबाइलको किरो’ बाल उपयोगी सामग्री

तेजविलास
‘मोबाइलको किरो’ (२०८२, भाद्र) बाल कवितासङ्ग्रह हो। यस पुस्तकका सर्जक लक्ष्मीदेवी गौडेल हुन् । यस कवितासङ्ग्रहभित्र जम्मा १४ ओटा बाल कविता सङ्गृहीत छन् । प्रत्येक कविताको विषयसँग सम्बन्धित आकर्षक चित्र पनि समावेश गरिएको छ । यस कवितासङ्ग्रहको प्रकाशन बेला पब्लिकेसनले गरेको हो। चित्रहरू आराध्य प्रताप अधिकारीले तयार गरेका हुन्।

यो कवितासङ्ग्रह ६\७ वर्षदेखि १३\१४ वर्षसम्मका बालबालिकाका लागि बढी उपयोगी देखिन्छ। आवरणबाहेक जम्मा १६ पृष्ठमा फैलिएको यो कवितासङ्ग्रहको मूल्य दुई सय रुपैयाँ राखिएको छ । बालबालिकालाई सिर्जनात्मक लेखनमा उत्प्रेरित गर्नका लागि कवितात्मक पाठ र चित्रहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यस कवितासङ्ग्रह भित्रका सबै कविताहरूले गुणात्मक मानव जीवन र प्रकृतिसँगको निकटताको विषयलाई प्रस्तुत गरेका छन् । आजको मान्छेको दैनिकीलाई सञ्चारका साधनले पारेको गहिरो असर र त्यसबाट बढी भन्दा बढी लाभ हुने काममा लाग्न कवितासङ्ग्रहभित्रका कविताहरूले सुझाएको छ । यस कवितासङ्ग्रहका लेखक स्वयम् बालबालिकाको भाषा शिक्षणमा जोडिएकाले पनि यस पुस्तकभित्रका विषयवस्तुले बालमैत्री व्यवहार कुशल यात्रालाई थप गतिलो बनाएको छ ।
कवितासङ्ग्रहको पहिलो कविता ‘मोबाइलको किरो’ हो । यो शीर्षककै नाममा समग्र कवितासङ्ग्रहको नामकरण गरिएको छ । जम्मा सात ओटा अनुच्छेद गुच्छामा फैलिएको कविताभित्र मोबाइलको प्रयोगबारे तथ्यपरक ज्ञान दिइएको छ ।

वर्तमान समयमा बालबालिकामा मोबाइलप्रति बढ्दो आकर्षण छ । मोबाइलभित्र राम्रा ज्ञान मात्र हुँदैन बालबालिकालाई गलत बाटोमा लैजाने सामग्री पनि भएकाले सचेततापूर्वक प्रयोग गर्न कविको अनुरोध छ । मान्छेको जीवनमा मान्छे नै नायक वा हिरो हुनुपर्नेमा मोबाइल निर्णायक वा हिरो भएको तथ्य यहाँ खुलस्त गरिएको छ । मोबाइललाई झगडाको बीऊ नबनाउन र यसलाई आवश्यक प्रयोग गर्न कविले गीतिलयमार्फत् विषय पस्किएको पाइन्छ ।
धेरै हेरे सिर्जनशक्ति
बनाइदिन्छ जिरो
नबन है बाबु नानी
मोबाइलको किरो । (पृ. ३)

कवितासङ्ग्रहभित्रको दोस्रो कविता हो, ‘हराभरा पृथ्वी’ । चार चार पङ्क्तिको चार ओटा अनुच्छेद गुच्छामा फैलिएको कविताको अन्तिममा आएको दुई पङ्क्ति स्थायीले गीतिलयको माग गरेको छ । पृथ्वीलाई हामी सचेत मानिसले संरक्षण गर्न नजाने हामीलाई पनि पृथ्वीले संरक्षण नगर्ने विचार व्यक्त गर्दै कविले हामीले गरेको कमजोरीको फल हामीले नै भोग्नु पर्ने बताएका छन् । कवि प्रकृतिका जीवहरूलाई समान व्यवहार गर्न र पर्यावरणलाई अतिक्रमण गर्ने यात्रा बन्द गर्न सुझाउँछन् ।
फूलबारीमा फूल
रूख रोप्ने मन छ
पृथ्वीलाई जोगाऊँ !
मेरो मनले भन्छ । (पृ. ४)

सम्बन्धको मनोविज्ञान
बालबालिकामा सचेत यात्राको व्यावहारिक पक्षलाई बलियो बनाउन र कृतिम चिजमा भन्दा प्रकृतिमा रमाउन प्रेरित गरिएको कविताभित्र केही शब्दले भने क्रम मिचेको देखिन्छ । ‘आँसु पुछ्ने तिन्को’ पङ्क्तिमा ‘तिन्को आँसु पुछिदिने’ बनाउँदा लयविधान र अर्थविधानमा समेत सहजता उत्पन्न हुने स्थिति छ । कथ्य बोलीको प्रयोग सान्दर्भिक देखिन्छ ।

कवितासङ्ग्रहभित्र बालबालिकाको स्वभाविक बानी व्यहोरालाई रोचक ढङ्गले प्रस्तुत गर्ने ‘छुकछुके बानी’ कविता तेस्रो शृङ्खलामा रहेको छ । यस कवितामा जम्मा ४÷४ पङ्क्ति ६ ओटा अनुच्छेद गुच्छामा सन्तान र आमाबुबाको सम्बन्धलाई समेत मीठो पारामा प्रस्तुत गरिएको छ ।

मानवीय मूल्यको विषय बालबालिकाको संवेगात्मक पक्षसँग जोडिएका हुन्छन् । कवि पछिल्लो समयमा छोराछोरीलाई छाडेर आमाबाबु दुवै कार्यालय जाने कर्मले बालबालिकाको मनोविज्ञानमा सकारात्मक विकास हुन नसकेको कुरामा जोड दिन्छन् । मोबाइल हेर्न दिएर सन्तानलाई छाडी काममा जाने प्रवृत्तिले सही दिशानिर्देश नगर्ने विचार अभिव्यक्त भएको छ । कवितामा बालबालिकाको कुरा सहजै पङ्क्तिबद्ध भएको छ;
मेरो बालमय बुझी
मलाई समय दिनुहुन्न
यस्तै कुरा नहुँदा त
ज्ञानी म नि हुन्नँ । (पृ. ५)

चेतना र व्यवहारको अभिव्यक्ति
बालसुलभ चेतना र व्यवहारलाई कविले सहज ढङ्गले अभिव्यक्त गरेका छन् । कवि प्रत्येक कविताका पङ्क्तिमा सचेततापूर्वक विषय विन्यास गर्दै अगाडि बढेको देखिन्छ । ‘घर पनि मन्दिर’ शीर्षकको कविताले मन्दिरभन्दा बुझिने पछिल्ला सन्दर्भको अर्थभन्दा गुणात्मक हिसाबले केही सिक्ने ठाउँ वा माया ममताले भरिएको स्थल भन्ने कुरालाई देखाएको छ ।

वास्तवमा मन्दिर भनेको आफ्नो मनलाई आनन्द दिने थलो हो त्यो त घर नै हो नि ! मान्छेहरूले मन्दिर भनेर ठड्याएका भौतिक संरचनाको आडमा झन् एकअर्कालाई विभेद गर्ने खेल सिकाउन नहुने आशय पनि यहाँ भेटिन्छ ।

जीवन जिउने कला सिकाउने मुख्य थलो जन्म लिएको घर हो जहाँ प्रथम गुरुको रूपमा आमा हुन्छिन् । ‘साथीसँग मिली खेल’ कविताले हाम्रो नानीबाबुहरूलाई संस्कारको पाटोमा बलियो बनाउन प्रेरित गरेको छ । सही विचार आदानप्रदान गर्न र बालवयदेखि नै आफूलाई ज्ञान र विचार दुवैले सङ्गठित गर्न कविको जोड रहेको छ ।
खेलैबाट देशको नाम
राख्ने रै’छ काइदा
खेल्दाखेरि हुँदो रै’छ
अनेक अनेक काइदा । (पृ. ७)

प्रत्येक कवितामा सुन्दर चित्रहरू राखिएको छ । कविता पढेर चित्र हेर्दा अनि चित्र हेरेर कविताको भाव खोज्दा सजिलो हुने स्थिति देखिन्छ । हिजोआज हामीले बुझाउनु पर्ने विषयको क्षेत्र धेरै फैलिएको छ । खाद्य, फलफूलको उत्पादन मात्र होइन यसको उपभोगको संस्कार दिनु झन् जरुरी भएको छ ।
खाने कुरामा ध्यान नपु¥याउँदा अनेक रोगले आक्रमण गर्ने मात्र होइन, खाना फाल्ने प्रचलनले हामीलाई गरिब तुल्याउँदै लगेकाले सो बानी सानैदेखि हटाउनै पर्ने सन्देश ‘खाना फाल्न हुन्न’ भन्ने शीर्षकको कविताले प्रस्तुत गरेको छ । यस कवितामा कता कति लय मिलाउन खोज्दा भाव बिग्रन खोजेको देखिन्छ । कवितामा लय र भावको माध्यम भाषिक प्रयोग हुने भएकाले वर्णविन्यास र लेख्य चिह्नहरूमा निकै ध्यान दिनुपर्ने पाठ समेत सिक्न सकिन्छ । कविताले निम्न वर्गको बालबालिकाको स्थितिलाई शब्दद्वारा स्पष्ट पारेको देखिन्छ;
कति साना नानीको
खाना छैन थालमा
कति नानी रुन्छन् कठै
प्लाष्टिकको पालमा । (पृ. ८)

जीवनोपयोगी ज्ञानको चिन्ता
‘काठमाडौँ सहर’ अर्को तथ्य प्रस्तुतिको लोभलाग्दो कविता यहाँ प्रस्तुत गरिएको छ । यस सहरको पूर्णरूपको तुलनामा आज यो सहर जीर्ण बन्दै गएको जानकारी छ । नदी, खोलामा थुप्रिएको फोहोर, मासिँदै गएको प्राकृतिक पन, बढ्दो परनिर्भरता र असुरक्षाले काठमाडौँलाई बिरामी तुल्याएको प्रति चिन्ता व्यक्त गरिएको छ । यस कवितासँगै प्रस्तुत चित्रले भने कवितासँग त्यति स्वभाविक बोध नगराएझैँ अनुभूत हुन्छ ।

अलिकता पुरानो ज्ञानलाई नयाँ पुस्तामा दिन खोजेको छ ‘तिउरीको पात’ कविताले । हाम्रो परम्परामा रहेको विज्ञान र पछिल्लो बजारको तुलना गर्दै कवि प्राकृतिक जीवनमा रमाउन र त्यसको उपचारात्मक क्षमतालाई बुझ्न आग्रह गर्दछन् ।

हामीले पछिल्लो पुस्तालाई जीवनोपयोगी ज्ञान दिन सकेका छैनौँ । हाम्रा जडिबुटी र प्राकृतिक जीवनयापनका कुरालाई हामीले प्रभावकारी ढङ्गले प्रस्तुत गर्न जरुरी छ । मौलिक प्रचलन छाडेर मेहेन्दी लगाउने प्रचलनले हाम्रो स्वास्थ्य र अर्थतन्त्र दुवैलाई नराम्ररी घाटा पु¥याएको आशय कवितामा प्रस्तुत भएको छ ।
बालबालिकाहरूलाई सानो उमेरमा खुल्ला र सुरक्षित ठाउँमा खेल्न दिनुपर्छ । उनीहरूको संवेगात्मक विकासको पाटोलाई खेलकुदले निकै सजिलो तुल्याउँछ भन्ने आशयलाई पुष्टि गर्न कवि आफ्नो बालापनको अनुभूतिलाई कवितामा पोख्दै लयबद्ध तुल्याउँछन्;
आँगन कोतरेर ढ्याक
खेलिन्थ्यो, गट्टा खेलिन्थ्यो
कोलमा निबुवा
पेलिन्थ्यो, उखु पेलिन्थ्यो । (पृ. ११)

आज हामीहरू निरन्तर सहरमुखी भएका छौँ । प्रकृतिको सुन्दर रूप विकृत बन्दै गएको छ । बाल्यकाल नै गुणात्मक जीवनको जग हो । यस समयमा भोगेको विषयले मानिसलाई निकै सङ्घर्षशील तुल्याउँछ भन्ने कुरा कविको हरफहरूले प्रस्तुत गरेको छ ।

कवितामा लयको एक रूपता भएको भए अझैँ सुन्दर हुने थियो भन्ने लाग्दछ । किताबको महिमालाई ‘मेरो किताब’ भन्ने शीर्षकको कविताले राम्ररी सरल भाषामा प्रस्तुत गरेको छ । चित्र भने अलि मिलेन कि ! जस्तो पाठकमा लाग्नु स्वभाविक हो किनकि जति नै पढैया मान्छे पनि किताबमाथि बसेर त पढ्दैन नि !
‘सानो खरायो’ कविता थुप्रै कविहरूले लेखेको जस्तै शीर्षकको कविता बनेको छ । चित्रमा भएको मोहकताले कवितालाई पनि फरक भने तुल्याएको छ । कविता अलि धेरै जोडजाम गर्न खोज्दा मौलिक भए पनि लोभलाग्दो बन्न सकेको छैन । ‘कलकलाउँदो डाली’ कविता पर्यावरणलाई महत्व दिएर लेखिएको कविता हो । यस रचनामा प्रकृतिको साथ र सहयोग विना हामी एकछिन पनि बस्न र बाँच्न नसक्ने विचार अभिव्यक्त भएको छ ।
रूख रोपौँ जताततै
नाङ्गा डाँडाभरि
रोक्न सक्छु विपत्तिलाई
पैरो जाँदा खेरी । (पृ. १४)

प्रकृति संरक्षण
नेपालको जङ्गल र प्राकृतिक सम्पदा पछिल्लो समय सङ्कटमा पर्दै गएको छ । राज्यले सही ढङ्गबाट योजना नबनाउँदा यस्तो स्थिति आएको हो । बोटविरुवा मासिँदा एउटा पक्षको मात्र क्षति हुँदैन । बिरुवासँग जीव, पानी, माटो, हावाको गहन सम्बन्ध हुने भएकाले यस्ता अन्तरसम्बन्धित विषयमा ध्यान दिन कविको आग्रह छ । कवि हाम्रो देशको प्रकृतिलाई अझै सुन्दर बनाउन आफ्नो कवितामार्फत् विशेष आग्रह गर्दछन् ।‘मातृभूमि छोडी’ शीर्षकको कविता निकै मर्मस्पर्शी रचना हो । प्रतिदिन नेपालमा केही हुँदैन भनेर विदेशतर्फ लम्किने नेपालीलाई यसले नेपाल बुझ्न आह्वान गरेको छ ।
विदेशका रङ्गीचङ्गी
सपनामा भुली
कहिल्यै पनि नबिर्सनु
हिमालका चुली । (पृ. १५)

नेपालको मौलिक पक्षको परिचयलाई नेपालीले नबढाए कसले के गर्ला ? भन्ने आशय बोकेको यस कविताले हाम्रो युवा पुस्तालाई आफ्नै देशको चिन्ता गर्नका लागि आग्रह गरेको छ । नेपालीहरू पछिल्लो दिनमा विदेशको विकसित भूमिको भोग गर्न आतुर हुँदा देशको चौतर्फी विकास सुस्त बनेको पृष्ठभूमिमा कविता सकारात्मक भाव पैदा गर्न सक्षम छ । कवितामा प्रस्तुत चित्र भने यहाँको प्रयासमा आधारित हुनुपर्ने थियो कि ! त्यस्तो लाग्दछ । ‘स्कुल लाग्छ राम्रो’ यस कवितासङ्ग्रहको अन्तिम कविता हो । बालबालिकाले विद्यालयमा धेरै कुरा सिक्दछन् । उनीहरूको नेतृत्व विकास गर्ने मुख्य थलो विद्यालय नै हो विद्यालयले असल आचरण सिकाउने र प्राविधिक अनि व्यवहारिक विषयमा बढी केन्द्रित गराउनु पर्दछ ।

बालबालिकालाई सही बाटोमा प्रवृत्त बनाउन विद्यालयको विशेष भूमिका हुन्छ । कवितामा चित्र जति स्पष्ट छ त्यति कविता भित्रका शब्दहरूले आकर्षित गर्न सकेको जस्तो लाग्दैन । लय र भाषामा समन्वय नहुँदा आशय राम्रो भए पनि पाठ भने त्यति मिठासपूर्ण बन्न सकेको देखिँदैन ।

निष्कर्ष
कवि लक्ष्मीदेवी गौडेलको यो पहिलो बाल कवितासङ्ग्रह हो । आफ्ना रचनामार्फत् कवि सरल ढङ्गले पोखिएका छन् । एउटा नारी हुनुको नाताले प्रकृतिलाई चित्रण गर्ने तरिका निकै आकर्षक छ । आफ्ना रचनाहरूमा बालवयका अनुभव, अनुभूति र आफ्नो शिक्षण कर्मको अनुभवलाई समेत मिसाएर कविताका पाठक खासगरी बालबालिकाहरूलाई जिम्मेवार बनाउन कवितासङ्ग्रह भित्रका कविताहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कवितासङ्ग्रह भित्रका १४ ओटा कविताले फरक फरक विषयलाई सजिलो पारामा प्रस्तुत गरेका छन् । विषयको विविधता लयात्मकताको प्रयास र आकर्षक चित्रहरूद्वारा अभिव्यक्त गरिएको विचारले बालबालिकालाई मनोरञ्जका साथै ज्ञान र सिपमा टेवा पु¥याउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here