एडिबीको ऋण सहयोगमा सञ्चालित विकास: पूर्वाधार क्षेत्र कमजोर,उर्जा क्षेत्र सफल

काठमाडौं, ४ मंसिर । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएकोमा चिन्ता व्यक्त गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठकमा एसियाली विकास बैंकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।

समीक्षा बैठकमा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्नतर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेका थिए ।

सन् २०१९ मा ३८ करोड १० लाख डलर सम्झौता भएकोमा हालसम्म २० करोड १० लाख डलर उपलब्धी हासिल भएको बैंकले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा ४२ करोड ३० लाख डलर खर्च गर्ने लक्ष्य राखिएकोमा २२ करोड ७० लाख डलर उपलब्धी हासिल भएको जनाइएको छ । यो गत वर्षको तुलनामा बढी रहेको बैंकले जनाएको छ ।

सन् २०१९ मा एडीबीले गरेको लगानीमध्ये सबैभन्दा कमजोर पूर्वाधार क्षेत्रमा देखिएको छ । सबैभन्दा सफल भने उर्जा क्षेत्र देखिएको छ ।

यस वर्ष उर्जा क्षेत्रमा १० करोड डलर लक्ष्य राखेकोमा ११ करोड डलर बराबरको ठेक्का प्रक्रिया उर्जा क्षेत्रमा अघि बढिसकेको बैंकले जनाएको छ । सहरी र खानेपानी क्षेत्रमा ९ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखिएकोमा ४ करोड ८४ लाख डलर ठेक्का प्रक्रिया अघि बढेको बैंकले जनाएको छ ।

एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ । एडीबीले नेपालमा ऊर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रतिवर्ष ६० करोड डलर लगानी गर्ने एडीबीको तयारी

एडीबीले लगानीको लागि प्रतिवर्ष ६० करोड डलर लगानी तयार रहेको जनाएको छ ।

सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलरदेखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसके पनि एसियाली विकास बैंकले सन् २०२० देखि २२ सम्म तीन वर्ष औसत वार्षिक ६० करोड डलरका परियोजना कार्यान्वयनको लक्ष्य राखेको छ ।

बैंकले परियोजना कार्यसम्पादन सुधार गर्न नयाँ परियोजनाहरुमा उच्च दिनुपर्ने, तेस्रो पक्षको क्षती र स्रोतको अपव्ययबाट जोगाउन उचित योजना र व्यवस्थापनमा अन्तर सम्बन्धित निकायबीच समन्वयमा विशेष चासो दिनुपर्ने जनाएको छ ।

विशेष गरी काठमाडौं उपत्यकामा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्णय गर्ने प्रक्रियालाई सरल बनाउनुपर्ने बैंकले जनाएको छ । एसियाली विकास बैंकले सन् २०१९ को १० महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here