काठमाडौं ६, मंसिर । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १२ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन ।
सरकारले गत असारसम्म सबै वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लिए पनि गत असोजसम्म ७ सय ४१ तहमा मात्र बैंक पुगेका हुन । बाँकी १२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन ।
बैंक पुग्न नसकेका स्थानहरु दुर्गम हुनुका साथै, ती स्थानमा शाखा सञ्चालनका लागि अत्यावश्यक पुर्वाधार नभएको बैंकले जनाएका छन् ।
ती स्थानमा आवश्यक पूर्वाधार विकास गर्नका लागि राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत निकायमा आग्रह गरिएको बैंकर्स संघले जनाएको छ । बाँकी स्थानमध्ये पनि धेरैमा शाखा स्थापनाका लागि काम भइरहेको बैंकहरुले दाबी गरेका छन् ।
गत असोजसम्म वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या २५, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ८९ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार १ सय १० वटा पुगेको छ । गत असारसम्म शाखा संख्या ८ हजार ६ सय ८६ रहेको छ ।
२०७६ जेठ मसान्तमा नेपालको कुल जनसंख्यामध्ये ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्था ( लघुवित्तीय वित्तीय संस्थाबाहेक) मा निक्षेप खाता छ ।
स्थानीय तहका सबै वडासम्म वित्तीय सेवाको पहुँच पुर्याउन बैंक शाखा नभएका वडाहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यस्तै, लघुवित्त वित्तीय संस्थाले महानगरपालिका, उप–महानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपश्चात् मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापना गर्न सक्ने व्यवस्था छ ।