लगानी सम्मेलन: १७ परियोजना बुक, १६ को समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १६ चैत । १७ ओटा परियोजनामा लगानीकर्ताको आवदेन तथा १६ परियोजनको समझदारीपत्रमा हस्ताक्षरसँगै नेपाल लगानी सम्मेलन सम्पन्न भएको छ ।

लगानीकर्ताहरुले यातायात, ऊर्जा, कृषि, शिक्षा तथा स्वास्थ्य र लजिस्टिक पूर्वाधारका विभिन्न परियोजनामा रुची देखाउँदै १७ ओटामा आवेदन दिएको लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ । लगानी सम्मेलनमा सरकारका ५० र निजीक्षेत्रका २७ गरी ७७ परियोजना प्रस्तुत गरिएको थियो ।

लगानीकर्ताका लागि आवेदन दिने समय आगामी अप्रिल २० सम्म भए पनि कतिपय विदेशी लगानीकर्ताले सम्मेलनकै अवसरमा परियोजना बुक गर्न खोजेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर भएका परियोजनामा सौर्य ऊर्जा, जलविद्युत, वित्तीय सेवा, वेयरहाउस, औद्योगिक कोषलगायत छन् । भारत, चीन, क्यानडा, दक्षिण अफ्रिका र नेपालका कम्पनी तथा लगानी बोर्ड, उद्योग विभाग, गैरआवासीय नेपाली संघ आदिवीच ति परियोजनाका लागि समझदारी भएको हो ।

सम्मेलनका मुख्य कार्यक्रमबाहेक प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ता तथा विदेशी प्रतिनिधिमण्डलसँग ३६ ओटा द्विपक्षीय भेटवार्ता गरेका छन् भने व्यवसायी र सरकारवीच ३९ ओटा तथा व्यवसायी व्यवसायीवीच ३० ओटा मिटिङ सम्पन्न भएका छन् ।

त्यसैगरी व्यावसायिक वातावरण, भेञ्चर क्यापिटलको भविष्य, महिला उद्यमशीलतालगायत विषयमा साइडलाइन मिटिङ पनि आयोजना भएका छन् ।

ती बैठकहरुले लगानीकर्ताको नेपालप्रतिको चासो थप बढाएको अर्थमन्त्री डा. खतिवडाले बताए । सम्मेलनका अवसरमा सरकार, प्रतिपक्ष र निजीक्षेत्रवीच अभूतपूर्व एकता देखिएको र त्यसले धेरै विदेशी व्यवसायी तथा लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा स्वदेशी तथा विदेशी गरी १२०० भन्दा बढी सहभागी भएको बताए । ४० देशका ७०० भन्दा बढी व्यवसायी तथा प्रतिनिधहरु सम्मेलनमा सहभागी भएका छन् ।

सरकारले पछिल्ला वर्षहरुमा गरेको नीतिगत सुधार तथा स्थिर सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक सन्देश गएको उनको भनाइ थियो ।

समापन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धिका लागि सरकार र निजीक्षेत्रवीच सहकार्य गर्नुको विकल्प नरहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here