विश्वकै उत्कृष्ट फिनल्याण्डको शिक्षा प्रणाली, शिक्षक बन्न मास्टर्स डिग्री

हाम्रो देशको सार्वजनिक शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको धेरै विज्ञहरुले बताउँदै आएका छन् ।

हाम्रा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्रै भएको कुरा उठ्ने पनि बेलाबखत उठ्ने गर्छन् ।

शिक्षा प्रणाली सुधार कसरी गर्न सकिन्छ भनेर हामीले विश्वका उत्कृष्ट शिक्षा प्रणाली रहेको फिनल्याण्डबाट धेरै कुरा सिक्न सक्छौं ।

फिनल्याण्डको शिक्षा प्रणाली किन उत्कृष्ट रहेको छ भनेर हामीले आज त्यसका कारणहरु खोज्ने प्रयास गरेका छौं ।

यस्ता छन् फिनल्याण्डको शिक्षा प्रणाली राम्रो हुनुका ९ कारणः

१. औपचारिक मापन प्रणाली छैन

परिक्षा आउनासाथ पास हुनकै लागि भएपनि पुस्तक रट्ने बानी परेका हामीलाई फिनल्याण्डको शिक्षा प्रणालीले अचम्मित बनाउन सक्छ ।

यहाँ शिक्षकले विद्यार्थीलाई केवल कसरी पास हुने, धेरै नम्बर ल्याउने भन्नेबारे सिकाउँछन् भने विद्यार्थी पनि त्यस्तै सीपको पछि लाग्छन् । तर, फिनल्याण्डको शिक्षा प्रणाली केही फरक छ ।

त्यहाँ सीप तथा र क्षमता विकासमा सानै देखि बच्चालाई अभिप्रेरित गरिन्छ । जहाँ शिक्षाको मापनका लागि कुनै औपचारिक मापदण्ड छैन ।

उच्च माध्यमक स्तरको पढाई पुरा गरेपछि सबै विद्यार्थीलाई एक ग्रेडिङ प्रदान गरिन्छ । यसको जिम्मा शिक्षकको हातमा हुन्छ । माध्यामिक शिक्षामा भएको समग्र प्रगतिको नियमन भने शिक्षा मन्त्रालयबाट हुने गर्छ ।

२. दक्ष जनशक्तिमात्र बन्न सक्छन शिक्षक

त्यसो त फिनल्याण्डमा शिक्षक बन्न पनि सजिलो छैन । सेवा प्रवेशका लागि मात्र पनि मास्टर्स डिग्री अनिवार्य छ । विद्यार्थीलाई कस्तो बनाउने भन्ने जिम्मा शिक्षकको हातमा हुन्छ ।

कुनै पनि शिक्षकले काममा सहि प्रदर्शन गर्न सकेन भने उसको बारेमा निर्णय लिने अधिकार प्रध्यानाध्यापकलाई हुन्छ । जसले गर्दा शिक्षक आफ्नो पेशाप्रति बढी उत्तरदायी हुने गर्छन् ।

३. प्रतिस्पर्धा होइन सहयोग

भनिन्छ, असली विजेता प्रतिस्पर्धामा उत्रिदैन । फिनल्याण्डको शिक्षा प्रणालीले विद्यार्थीलाई यस्तै ज्ञान सिकाउँछ ।

यहाँ अन्य मुलुकमा जस्तो डिग्री र प्राप्तांकका लागि प्रतिस्पर्धा हुँदैन । बरु विद्यार्थीलाई बढीभन्दा व्यवहारिक ज्ञान दिनेमा ध्यान केन्द्रित गरिन्छ ।

४. प्राथमिकताका आधारमा शिक्षा

धेरै देशमा गणित, विज्ञानजस्ता विषयलाई बढी प्राथमिकता दिन्छन् । त्यसमा विद्यार्थीको रुची भए नभएको भन्ने ख्याल गरिदैन, बरु प्राप्तांकका लागि प्रतिस्पर्धा गर्न प्रेरित गरिन्छ ।

फिनल्याण्डले पछिल्लो समय आफ्नो शिक्षा नीतिमा परिवर्तन गरेको छ । सन् १९८० यता फिनल्याण्डको शिक्षा प्रणालीले सामाजिक असमानतालाई हटाउने हतियार नै शिक्षा हो भन्ने तथ्य स्वीकार ग¥यो ।

त्यसपछि सबै विद्यार्थीका लागि निःशुल्क स्कूल भोजनको व्यवस्था, स्वास्थ्य सेवा, व्यक्तिगत तथा मनोवैज्ञानिक परामर्श र मार्गदर्शनजस्ता विषयलाई जोड दिइयो । व्यक्तिलाई समूहमा घुलमिल गराउने यो सफल तरिका सावित भयो ।

५. उमेरको दवाव छैन

बच्चा तीन वर्ष पुग्न पाएका छैन, दिनभर स्कूलमा छाड्ने अविभावक धेरै छन् । तर, फिनल्याण्ड एउटा यस्ता मुलुक हो, जहाँ बालबालिकालाई उमेरको दवाव छैन ।

यहाँ ९ वर्षको उमेरसम्म बच्चा विद्यालयमा हाजिर हुन सक्छन् । सामान्यतया १६ वर्षको उमेरमा फिनिस बच्चा ९ कक्षा उत्तीर्ण गर्न सक्छन् । बालबालिकाको बालसुलभ अधिकारका विषयमा यहाँ निकै सचेतना अपनाइन्छ ।

कलिलो उमेरमै बोक्नै नसक्ने बोझ बोकाएर मात्र बालबालिकाको प्रगति हुन सक्दैन भन्ने मान्यता यहाँ छ ।

६. समयको दवाव छैन

बिहान सबैरै उठ्नु, तयार हुनु, भोक लागे पनि नलागेपनि खाना खानु, बस पकड्नु र दौडधुप गर्नु, धेरै मुलुकमा यो विद्यार्थीको दैनिकी हो ।

फिनल्याण्डले आराम तथा निद्राका लागि विद्यार्थीसँग पर्याप्त समय होस भन्ने उद्देश्यले विद्यालयहरु ९ बजेदेखि ९ ः ४५ बजेसम्म शुरु हुने र २ देखि २ ः ४५ सम्म छुट्ने रुटिन तोकेको छ ।

७. लामो समय एकै शिक्षकको निगरानी

फिनल्याण्डमा शिक्षक कम हुन्छन् । तर, जो शिक्षक छानिन्छन्, उनीहरु विद्यार्थीको परिवारको सदस्य सरह बन्छन् ।

विद्यालय शिक्षा प्राप्त गरेको करीव ६ वर्षसम्म पनि एकै शिक्षकले विद्यार्थीको शिक्षामा खटिएका हुन्छन् । त्यसकारण भनिन्छ, फिनल्याण्डमा शिक्षकहरु विद्यार्थीप्रति उत्तरदायी हुन्छन् र उनीहरुको भावना बुझेर पढाउँछन् ।

विद्यार्थीलाई परिवारको सदस्य मान्ने प्रचलनका कारण शिक्षकले कोही पनि विद्यार्थीको कुभलो चिताउँदैन ।

८. आरामदायी माहोल

फिनल्याण्डमा सिकाईलाई कहिले पनि बोझिलो बनाइदैन् । कम तनाव, बढी मनोरन्जन र देखभाल गरी विद्यार्थीलाई सिकाईमा अभिप्रेरित गरिन्छ ।

विद्यार्थीलाई सामाजिक गतिविधिमा लाग्न प्रोत्साहित गरिन्छ । उनीहरुका लागि पर्याप्त पूर्वाधारको विकास गरिएको छ ।

९. कम गृहकार्य, सिकाईलाई प्राथमिकता

फिनल्याण्डको शिक्षा प्रणालीले विद्यार्थीलाई गृहकार्यको बोझ बोकाएर मात्र पढाई राम्रो हुन्छ भन्ने मान्यता राख्दैन ।

बरु, उनीहरुलाई बाहिर बढी समय बिताउन लगाइन्छ । जसले गर्दा विद्यार्थीले संस्कृति, रहनसहनलाई नजिकबाट बुझ्ने मौका प्राप्त गरुन् ।

-एजेन्सीको सहयोमा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here