गायक, संगीतकार तथा चलचित्रकर्मी नारायण रायमाझी आफूलाई एकान्तप्रेमी भन्न रुचाउँछन् । एकान्त स्थानमा बस्ने, नयाँ-नयाँ रचनामा नै व्यस्त हुने उनलाई धेरै साथी बनाउन, धेरै होहल्ला हुने ठाउँमा बस्न मन पर्दैन ।
देश तथा विदेशका कुना-कुनामा पुगेका रायमाझीलाई खासै धेरै ठाउँहरुले लोभ्याउन सकेनन् । धेरै मानिसहरु घुम्न मन पर्ने ठाउँको बारेमा बताउनु पर्यो भने गएका र जान मन लागेका ठाउँको फेहरिस्त लगाइदिन्छन् ।
तर उनी यस्त मान्छे हुन जस्लाई विदेशका कुनै ठाउँ मन परेन । औँलामा गन्न सकिने केही स्थानले भने उनको मनमा अमीट छाप छाडेका छन् जहाँ उनलाई फेरी फेरी जान पाए हुन्थ्यो भन्ने लाग्छ ।
पोखरा
पोखरा मन नपर्ने र त्यहाँको वातावरणले नलोभ्याउने सायदै कोही होला । पोखराले हरेक प्रकृतिका व्यक्तिलाई अनुकुल मौसमको विस्कुन लगाइदिने क्षमता राख्छ । त्यसैले होला एकान्त खोज्दै हिंड्ने रायमाझीले पोखराको वातावरणमा आफू हराएको पाउँछन् ।
त्यहाँको हावापानी, एकान्तपन, रमाइलो वातावरण र वरिपरिको दृश्यले उनको मन लोभ्याई रहन्छ । ‘पोखरा मलाई असाध्यै मनपर्छ’ उनले भने, ‘त्यहाँ खै के जादु छ म एकान्तमा नै खुशी हुने मानिसलाई पनि त्यो ठाउँले मोहनी लगाईदियो ।’
पाल्पा
आफ्नो जन्मभुमी सबैलाई मनपर्छ । अनि रायमाझी मात्रै कसरी अपबाद बनुन् ।‘आफू जन्मेको ठाउँ कस्लाई पो मन नपर्ला र मलाई पनि मनपर्छ,’ उनले भने, ‘आफूले पहिलो पाईला टेकेको माटोको सुगन्ध मलाई ज्यादै मन पर्छ, त्यसैले फुर्सद हुना साथ म त्यहाँ पुग्छु ।’
यी दुई स्थानमध्ये उनको मन खास्सै अरु स्थानले लोभ्याउन सकेका छैनन् । नेपाली भएका मध्ये संसारका धेरै मुलुक घुम्न भ्याएका छन् उनी तर अहँ त्यहाँका कुनै पनि ठाउँले उनलाई तान्न सकेनन् । म यस्तै छु, के गरुँ, उनी मुस्कुराउँदै भन्छन् ।