विद्युत् आत्मनिर्भर हुँदै मुलुक, किन गईरहन्छ झ्याप-झ्याप बत्ती ?

काठमाडौं, ३ माघ । सरकारले खपत बढाउन सर्वसाधारणलाई आग्रह गरेपनि उपत्यकामा भने समस्या देखा पर्न थालेको छ।

नेपाल विद्युत् आत्मनिर्भर हुँदै गएको भन्दै विद्युत् प्राधिकरणले पर्याप्त विद्युत् उपलब्ध भएको जनाएपनि झ्याप झ्याप बत्ती जाने समस्या देखापरेको सर्वसाधारणहरूको गुनासो गरेका छन् ।

२०७४ अघिसम्म लोडसेडिङले आजित बनेका सर्वसाधारण पछिल्लो समय झ्याप झ्याप बत्ती जाने समस्याबाट हैरान बन्न थालेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहि साता अघिमात्र राजधानीमा भएको एक कार्यक्रममा मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका थिए ।

घिसिङले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेकोले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जनाकारी गराएका थिए ।

किन जान्छ झ्याप झ्याप बत्ती ?

नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालय स्रोतले जनाए अनुसार बढ्दो जाडोको कारण विद्युतको माग बढी हुँदा ट्रान्सफर्मर र सव–स्टेसनमा बढी भार परेर बत्ती गएको हो ।

यो समस्या हटाउन ट्रान्सफर्मर र सव स्टेसनको संख्या बढाएर लोड घटाउनुपर्ने जनाईएको छ । प्राधिकरणका अनुसार हाल काठमाडौं उपत्यकामा मात्रै विद्युत् माग करिब ४५० मेगावाट पुगेको छ।

विद्युत् खपत बढेको छ। तर वितरण प्रणालीले माग धान्न नसक्दा यस्तो अवस्था सिर्जना भएको प्राधिकरण स्रोतको भनाई छ ।

हाल मुलुकमा करिब १३०० मेगावाट विद्युत्‌को माग छ। त्यसमध्ये करिब ६०० मेगावाट प्राधिकरण आफैले सञ्चालनमा ल्याएका जलविद्युत परियोजनाबाट उत्पादन भएका छन् भने करिब ७०० मेगावाट विद्युत् निजी क्षेत्रले प्रवर्द्धन गरेका आयोजनाबाट प्राप्त भइरहेको अवस्था छ।

वाग्मती क्षेत्रमा मात्रै अझै करिब ५ हजार ट्रान्सफर्मर जडान गर्नुपर्ने जनाईएको छ । गत वर्ष ३ हजार र यो वर्षको हालसम्म २ हजार गरी ५ हजार ट्रान्सफर्मर थपिसकेको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्षमा प्राधिकरणले मुलुकभर करिब ६,५०० ट्रान्सफर्मरहरूलाई नयाँले प्रतिस्थापन गरेको थियो। मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुवात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here