पाँच महिनामा कृषि क्षेत्रमा २ खर्ब ४ अर्ब लगानी, तरकारी विदेशीमै निर्भर

काठमाडौं, २६ माघ । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा कृषि क्षेत्रमा मात्रै दुई खर्ब भन्दा धेरै लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गएको पाँच महिनाको अवधिमा कृषि क्षेत्रमा दुई खर्ब ४ अर्ब रुपैयाँ बराबरको ऋण लागानी भएको छ ।

तर, हरेक नेपालीले प्रयोग गर्ने अधिकांस तरकारी आयात गर्नुपर्ने भएकाले कृषिमा गएको कर्जा दुरुपयोग भएको आंशका गरिएको छ ।

ऋण लिनका लागि मात्र पनि बैंक तथा वित्तीय संस्थालाई आफ्नो कृषि फर्म देखाउने गरेका छन् ।

त्यसरी लिएको ऋण केही त्यही कृषि फर्ममा लगानी गर्ने र बाँकी रकम अन्य व्यवसायका साथै घर बनाउन, जग्गा किन्नेलगायतका क्षेत्रमा प्रयोग गरेको पाईने गरेको छ ।

कृषि उत्पादकत्व बढाउन भन्दै हरेक वर्ष कृषि कर्जामा वृद्धि हुँदै आएको छ । तर, त्यसरी लिएको कर्जा सही ठाउँमा लगानी हुन नसकेका कारण ठूलो मात्रमा खाद्यान्न विदेशबाट आयात गर्नु परेको छ ।

आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा कृषि क्षेत्रको लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको ऋण लागानी थियो । यो रकम पछिल्लो तीन आर्थिक वर्षहरुको पाँच महिनाको अवधिमा प्रवाह भएको ऋणहरुमध्ये सबैभन्दा धेरै हो ।

कृषिमा व्यावसायिकरण र आधुनिकीकरण नहुँदा कृषि तथा पशुजन्य वस्तुको उत्पादन बढ्न सकेको छैन । कृषि क्षेत्रलाई लगानीको प्राथमिकतामा परेकाले उत्पादन बढ्न अपेक्षा गरिएको छ ।

लगानी बढेकाले परम्परागत खेती प्रणाली व्यावसायिकरण हुने विश्वास लिइएको छ ।

परम्परागत कृषि प्रणालीले उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था आएपछि सरकारले उत्पादन बढाउन नीति लिएको छ ।

ठूलो रकम कृषिमा लगानी हुँदा पनि मुलुक आत्मनिर्भर हुन भने सकेको छैन । परनिर्भरता कम हुने उपायको खोजी सरकारले गरिरहेको छ ।

उर्जा क्षेत्रमा १ खर्ब ३४ अर्ब

गएको पाँच महिनामा उर्जा क्षेत्रमा पनि १ खर्ब ३४ अर्ब रुपैयाँको ऋण प्रवाह भएको छ । बैंकको तथ्यांक अनुसार पछिल्लो पाँच महिनामा उर्जा क्षेत्रमा १ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ ऋण प्रवाह भएको छ ।

यो रकम पछिल्ला तीन आर्थिक वर्षको पाँच महिनामा प्रवाह गरेको ऋणभन्दा धेरै हो । आर्थिक २०७५/७६ को पाँच महिनामा उर्जा क्षेत्रको लागि १ खर्ब १९ अर्ब रुपैयाँ ऋण प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधीमा पर्यटन क्षेत्रमा १ खर्ब २४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को पाँच महिनाको अवधीमा १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको थियो ।

भ्रमण वर्षको प्रभावको कारण पनि चालु आर्थिक वर्षको पाँच महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधीमाभन्दा १० अर्ब धेरै रकम खर्च भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here