सगरमाथा चढ्दै एचआइभी संक्रमित पूर्व फुटबलर, विश्व कीर्तिमान राख्ने लक्ष्य

काठमाडौं, २४ चैत । ज्यानको बाजी थापेर साहसीक र चुनौतीपूर्ण कामहरु गर्ने धेरै मानिसको सोख हुन्छ ।

ज्यानकै बाजी थापेर गरिने साहसीक काम मध्ये एक हो पर्वतारोहण । त्यही माथि पनि संसारकै अग्लो हिमाल सगरमाथा आरोहण गर्ने काम त झनै चुनौतीपूर्ण मानिन्छ, आरोहणकै क्रममा ज्यानै समेत जान सक्छ । तर पनि सगरमाथाको शिखर चुम्ने सपना हरेक पर्वतारोहीहरुमा हुन्छ ।

त्यतिमात्रै होइन चर्चित हुनको लागि सगरमाथा चढेर विभिन्न किसिमको कीर्तिमान बनाउने होडमा पनि लाग्छन् केही पर्वतारोहीहरु ।

तर, केही मानिसहरु भने समाजलाई सकरात्मक सन्देश दिनको लागि पनि सगरमाथा आरोहण गर्ने गर्छन् । तीनै मध्येका एक हुन्, पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ । ५६ वर्षिय उनी चर्चित हुनको लागि मात्रै सगरमाथा चढ्ने प्रयासमा छैनन् ।

२५ वर्षदेखि एचआइभी रोगसँग लडिरहेका उनी एचआइभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न र एचआइभी संक्रमितहरु कमजोर हुँदैनन् भनेर प्रमाणित गर्न सगरमाथा आरोहण गर्न लागेको बताउँछन् ।

एचआइभी संक्रमणको २५ वर्ष

कुनै जमानाका चर्चित फुटबल खेलाडी समेत रहेका पोखराका श्रेष्ठ युवा अवस्थामा लागुपदार्थ दुव्र्यसनको कुलतमा फसे । सिरिञ्जमार्फत लागुपदार्थ लिने क्रममा उनी एचआइभी सङ्क्रमित भएका थिए ।

उनी अहिले लागुऔषध दुव्र्यसन विरुद्ध र एचआइभी संक्रमित मानिसहरुलाई समाजले गर्ने तिरस्कार र अपमान विरुद्ध जनचेना जगाउने काममा सक्रिय छन् ।

यसै अभियान स्वरुप उनी सगरमाथा आरोहण गर्न लागेका हुन् र उनको अभियानलाई ‘स्टेप अफ क्याम्पेन’ नाम दिइएको छ ।

श्रेष्ठ भन्छन्, ‘एचआइभी संक्रमितहरु पनि अरु मानिस जत्तिकै सबल हुन्छन् भनेर समाजमा सकरात्मक सन्देश दिने लक्ष्यको साथ सगरमाथा आरोहण गर्दैछु ।’

यस अठोटलाई पुरा गरि विश्व कीर्तिमान समेत राख्ने उनको सोच छ । उनी भन्दा पहिले अहिलेसम्म कोही पनि एचआइभी संक्रमित मानिसले सगरमाथा सफल आरोहण गरेका छैनन् ।

पहिलो प्रयास असफल

श्रेष्ठ सगरमाथा पहिलो पल्ट सगरमाथा आरोहण गर्न लागेका होइनन् । उनी यस अघि वि.सं. २०७२ सालमै सगरमाथा आरोहणको लागि गएका थिए ।

सगरमाथा आरोहणको क्रममा उनको टोली सगरमाथाको आधार शिविर सम्म पुगेको थियो ।

वि.स. २०७२ को बैसाख १२ गतेको विनाशकारी भूकम्पपछि आएको हिम पहिरोमा परि उनी घाइते भए र पछि नेपाली सेनाले उनको उद्वार गरेको थियो ।

त्यतिखेरको दुखद घटना सम्झिँदै श्रेष्ठ भन्छन, ‘हिम पहिरोमा परि म सँगै गएका धेरै साथीहरु र एक जना गुगलका कर्मचारीको पनि मृत्यु भएको थियो ।’

प्राकृतिक प्रकोपले असफल बनाएको आफ्नो लक्ष्यलाई सफल बनाउनको लागि ३ वर्ष पछि फेरि जान लागेको पनि उनले बताए ।

५६ वर्षिय श्रेष्ठले हालसम्म सन् २०१३ मा थोरङ ला पास (५४१७ मि.), सन् २०१४ मा आईसल्याण्ड पिक (६१८९ मि.) र सन् २०१६ मा भर्जिन पिक (६६४६ मि.) गरि तीनवटा हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

सहयोगको खाँचो

श्रेष्ठ यहि चैत २९ गते सगरमाथा आरोहणको लागि जाँदै छन । आरोहणको लागि ४३ लाख ५० हजार खर्च लाग्ने छ ।

अहिलेसम्म ३० लाख मात्रै संकलन भएको उनको अभियानको संयोजन गरिरहेका पदमराज पहारीले आइतबार काठमाडौंको बानेश्वरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए ।

आफ्नो अभियानलाई साथ दिएर विश्व कीर्तिमान राख्न सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । श्रेष्ठको अभियानलाई चर्चित गायक कर्णदासले समेत सघाउँदै आएका छन् ।

‘यो गोपाल श्रेष्ठको मात्र सपना नभएर सम्पुर्ण नेपाली र विश्वभरिका सबै एचआइभी सङ्क्रमित व्यक्तिहरुको सपना हो’ गोपाल भन्छन् ‘अब विश्व रेकर्ड सहित नेपालको झण्डा सगरमाथामा फर्फराएर मात्र आउँछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here