उपभोग्यवस्तु जनताका घरघरमै पुर्‍याउन गृहको ६ बुँदे निर्देशन

काठमाडौं, १३ चैत । सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्‍याउन निर्देशन दिएको छ।

गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्र रहेको अत्यावश्यक खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सबै पसल एवम् बिक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले व्यवसायी, काठमाडौंमा सुपरमार्केट र ग्रोसरी, खाद्य स्टोर सञ्चालन गर्ने तथा महानगरपालिका कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो।

बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानको लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय गरेको छ ।

गृहले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ।

निम्नानुसारका निर्णयहरु गरेको छ ।

१. काठमाडौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै पसल एवं विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।

२. आवश्यक पर्ने डेलिभरी भ्यान हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।

३. पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

४. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै पसल एवं विक्रेताहरुले आ-आफ्नो Toll Free Number वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, Online, Offline मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (Combo Pack समेत) विक्रिवितरण गर्ने ।

५. दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाहरुले मिलाउने ।

६. काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका पसल एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।

यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

यस्तो छ निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here