गत वर्ष नयाँ वर्षारम्भ गर्दा हामीले, कर्णालीको राराबाट विद्यालय भर्ना अभियानको आरम्भ गरेका थियौं । त्यतिखेर मेरो मनमा प्रशस्तै प्रश्नहरु उठिरहेका थिए:
* यी स–साना नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल कसरी बनाउने ?
* सुत्केरी व्यथालागेका यस्तै भूभागका आमाहरुलाई बचाउने पर्याप्त मानवीय र भौतिक संसाधनको जोहो कसरी गर्ने ?
* कर्णाली नदी र त्यससँगै गडगडाउँदै बगिरहेका अरु नदीहरुबाट बत्ति निकाली गाउँ/बस्तीको अँध्यारो कसरी भगाउने ?
* सिंचाईको अभावमा बाँझै रहेका यहाँका खेतबारीलाई हरियाली कसरी बनाउने ?
अर्काेतिर म सोच्दै थिएँ: भर्खरै स्थापित संघीय शासन व्यवस्थाको जग कसरी बलियो बनाउने ? ‘मुलुक बन्दैन, काम हुँदैन’ भन्ने नकारात्मक भावलाई ‘काम पनि हुन्छ– हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ’ भन्ने विश्वास कसरी जगाउने? आज हामी यस्ता प्रश्न गर्ने स्थितिबाट, प्रगति सुनाउने अवस्थामा आइपुगेका छौं ।
नेपाल दक्षिण एशियाको राइजिङ्ग स्टार
राज्यमा रहेको चरम बेथीतिलाई क्रमशः प्रणालीगत स्थायित्वमा विकसित गर्ने तहमा हामी पुगेका छौं । संविधानअनुरुपको कानून निर्माण गरी, कानून बमोजिमको संरचनाको परिचालन गर्ने तहमा हामीहरु आइपुगेका छौं । संकेतमा भनौं:
* संयुक्त राष्ट्रसंघीय वालकोष (युनिसेफ)ले हालै प्रकाशित प्रतिवेदन– ‘अ वल्र्ड रेडी टु लर्न’मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडी भएको उल्लेख गरेको छ ।
* लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र (राइजिङ्ग स्टार) भनेका छन् ।
* विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेका छन् ।
* मिश्रित निर्वाचन प्रणालीबाट स्थीर र बलियो सरकार निर्माण हुनुलाई नेपालीहरुको सुझबुझपूर्ण निर्णय र विकास प्रतिको तीब्र भोकको रुपमा लिएका छन् ।
मैले धेरैचोटी दोह-याएको छु, संघीयता हाम्रो लागि विलकुल नयाँ अभ्यास हो । सञ्चालनमा चुनौति छन् । तर, यस शासन प्रणालीको सबै तहका सरकारहरु अहिले व्यवहारबाट सिक्दै, कमी/कमजोरीलाई चिर्दै अघि बढ्दैछन् । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दैछ, आफ्नै भूमिमा उम्रिएको यो टुसा हुर्किंदैछ ।
गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरे । त्यसैले हामीले, गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीब्र गतिका साथ अघि बढाउँछौं ।
हामीले हाम्रा संपूर्ण स्रोत, साधन र प्रयासहरु यसैमा खर्चेका छौं । तर आफ्नो मात्रै स्रोत÷साधनबाट हाम्रा आकांक्षाहरु पूरा गर्न संभव नहुने भएकोले नै मित्रहरुसँगको सहकार्य खोजी गरेका हौं । त्यसै खोजीको शुरुवात लगानी सम्मेलनबाट ग-यौं, जसले बाह्य पूँजी र प्रबिधि आमन्त्रण गर्न मद्दत पु-याएको छ । यसपछिको अभियान, सक्षम जनशक्ति र किटान गरिएको लक्ष्य सहितको कामबाट अघि बढाइनेछ ।
प्रश्न गर्ने तरीका फेरौं
कसैले निराशा पोख्न सक्छ– ‘यो एक बर्षमा के नै भयो र ?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं– यो वर्ष के के भए ?
* यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने ? कति संशोधन भए ?
* कति किलोमिटर बाटो कालोपत्रे भयो ? कतिवटा पक्की पुल निर्माण गरियो ?
* तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो ?
* पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ ?ड्ड पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ ?
* पहिले नचलेका कतिवटा विमानस्थल अहिले सञ्चलनमा आए? नेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् ?
* नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पा-यो ? आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ ?
* ‘खोलौं बैंक खाता’ कार्यक्रम के हो ? यसले कसरी फाइदा पुर्याउँछ ?
* काम र रोजगारीको अभियान कहाँ पुग्यो ? प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो ?
* ‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं शेयर किन्ने व्यक्तिलाई के कति लाभ हुन्छ ?
* छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ ?
न्याय सहितको समुन्नति
अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो । विकासको लागि सरकार के गर्दैछ त? म ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जनताको जीवनमा आउँनेछन् । हाम्रा कामहरुले आफ्नो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार, तथ्य/तथ्याङ्क सहित जवाफ दिन तयार छ । हाम्रो राष्ट्रिय आकांक्षा– ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रविन्दू जनता र धर्ती (पिपुल र प्लानेट) हो ।
जनताको जीवनलाई सहज र सुखी बनाउने, र हामी रहने धर्तीलाई सुरक्षित राख्ने । समृद्धि, सुखको आधार हो । सुख भनेको न्यायोचित जैविक र मानवीय आवस्यकताहरुको सहज उपलब्धता हो । उच्च र दीगो उत्पादन/उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता, मानवीय पूँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो । समृद्धि अर्थात् सामजिक न्याय सहितको समुन्नति ।
‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।
गन्हाएकाहरु छटपटिए
सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर/पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन ।
गएको साल, बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष पनि रह्यो । एकपटक सोचौं त– सुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दा अघि यस तह र व्यापकतामा कहिल्यै छानविनको दायरामा आएका थिए ? एक वर्ष अघिसम्म पनि, पहिलो रोजाइमा पर्ने स्थानहरु आज किन रोजाईमा परिरहेका छैनन् ? शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले किन छट्पटिएका छन्? अनपेक्षित ढंगमा तिनीहरु बुरुक/बुरुक उफ्रिंदै किन क्रिया/प्रतिक्रिया दिइरहेका छन् ?
नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु, मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिंदैछ । घरजग्गा कारोवार होस् वा संगठित तस्करी, भन्सार/अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित/अनुचित कामको छानबिन जारी छ ।
जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ ।
हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु । बेथीति र भ्रष्टाचार विरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति म आभार प्रकट गर्दछु ।
पृथकतावादको अन्त्य
वितेको वर्षमा मुलुकले राजनीतिक रुपमा महत्वपूर्ण उपलव्धिहरु हासिल ग-यो । अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधान अनुरुप राजनीतिक क्रियाकलापमा सहभागि हुने घोषणा गर्नु सामान्य विषय होइन ।
यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा मैल सन्तोष अनुभव गरिरहेको छु । अहिले, विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान शुरु भएको छ ।
सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइनेछ । लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिंड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन । शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ ।
तर अवाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गरिनेछ । यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रङ्ग दिएर हिंसालाई उचित नठह-याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु ।
मलाई मन परेको, युएइका प्रधानमन्त्रीले आफ्नो पुस्तक ‘माइ भिजन’मा चर्चा गरेको एउटा प्रसंग यहाँ स्मरण गर्न चाहन्छु: ‘बिहान घाम झुल्केसँगै अफ्रिकाको जङ्गलको एउटा सिंह आफ्नो जिउ तन्काउँछ र सोच्छ, ‘यस जङ्गलको सबभन्दा छिटो कुद्ने हरिण भन्दा ढिलो कुदेँ भने म भोकै मर्छु । त्यसैले मैले सकेसम्म छिटो दौडनु पर्छ ।’
त्यसैगरी जङ्गलको कुनै कुनामा सुतिरहेको हरिण पनि ब्यूँझिन्छ र सोच्छ– ‘अहो, अब मैले कुद्नु पर्छ, बेस्सरी कुद्नु पर्छ । यदी यस जङ्गलको सिंहभन्दा ढिलो भएँ भने म मारिन्छु । मैले बाँच्नु पर्छ ।’
पुरानो वर्षलाई विदाई र नयाँ वर्षको स्वागत गरिरहँदा आज म, समयलाई हेक्का राखौं भन्न चाहन्छु । हाम्रा सामु अनगिन्ती कामहरु छन् । मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अति कम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ ।
यसको लागि हामी बीचको प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ । जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ ।
३१४ वटा कार्यक्रममा सहभागि
हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् । समयको गति समाउन मैले पनि आफूलाई यो तीब्र गतिको दौडमा सामेल गरिरहेको छु । प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफूलाई हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राती १२ बजेसम्म सक्रिय राखेको छु । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा म, ३१४ वटा विभिन्न कार्यक्रममा सहभागि भएको छु । जनतासँगको सम्वाद कुनै न कुनै रुपमा जारी राखेको छु ।
सरकारको नेतृत्व सम्हालेपछि मैले, सडक–सञ्जालको हिसाबले लामो दूरीमा रहेको कर्णाली प्रदेशको राराबाट जनतासँगको सम्वाद यात्रा थालेको थिएँ । छोटो नै सही डोल्पा, हुम्ला, जुम्ला र सुर्खेतमा आफूलाई अड्याएर तपाईंहरुका भावना सुन्ने र मेरा योजना सुनाउने काम गरेँ । ६ वटा प्रदेशसभाहरुलाई सम्बोधन गर्ने क्रममा त्यहाँका जनप्रतिनिधिहरुसँग सम्वाद गरेँ । आज म यी सम्वादहरुको सकारात्मक परिणाम देखिरहेको छु ।
गएको साल, ‘दशैंसम्ममा दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्छौं’ भनेर गरिएको वाचा पूरा हुँदा, त्यहाँका जनतालाई जस्तै मलाई पनि औधी खुशी लागेको छ । सिमीकोटमा सल्लाह गरे बमोजिम ताक्लाकोट हुँदै सीमापार गर्ने नाका व्यवस्थित गर्ने काम सार्थक भएको छ ।
सीमानदी महाकालीमाथि कम्तिमा पनि झोलुङ्गे पुल चाहियो भन्ने दार्चुलाका दिदीबहिनी/दाजुभाइहरुको माग कार्यान्वयन भएको छ र असुरक्षित नदी आरपारलाई सुरक्षित पार्ने हाम्रो अभियानमा मद्दत पुगेको छ ।
वसन्त आफै आउँदैन, हासिल गर्नुपर्छ
सडकको शिलान्यास वा यस्तै विभिन्न अवसर पारेर प्रदेश १ को पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका कार्यक्रममा सहभागी भएको छु । सिराहाको भेला र रौतहटको विशाल सभालाई सम्बोधन गरेको छु ।
तय भएको औपचारिक कार्यक्रमलाई बीचमै छोडेर अकस्मात आएको चक्रवातबाट पीडित बारा–पर्साका जनताको दुःख र पीडासँग आफूलाई जोड्न पुगेको छु । व्यवसायिक स्याउ फार्मलाई प्रोत्साहित गर्न मनाङ पुगेको छु, जलविद्युत परियोजना शीघ्र सम्पन्न गराउन दोलखा पुगेको छु । यसरी वितेको एक वर्षमा जनतासँग सम्वाद गर्न ७७ मध्ये २९ जिल्लाहरुमा म स–शरीर नै पुगेको छु ।
कर्णाली र सुदुर पश्चिम प्रदेशको पहाडी भाग र तराईका अधिकांश भागमा रहेको फरकफरक प्रकृतिका असुरक्षित वस्ती व्यवस्थापनका लागि कार्यविधि लागू गर्न यी जिल्लाहरुको भ्रमणले सरकारलाई प्रेरित गरेको छ । यसरी गएको वर्ष, चुनौतिलाई चिर्दै, आशा र उत्साहका साथ हामीबाट विदा भएको छ ।
गएको वर्षले हाम्रो आत्मविश्वास थप सुदृढ बनाएको छ । साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरिरहेको छ । प्राकृतिक नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष प्रतीक्षा गर्नुपर्छ । तर सामाजिक विकासका नियम भने जटिल हुन्छन् । प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसलाई हासिल गर्नुपर्छ ।
(प्रम ओलीले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशको सम्पादित अंश)