बैंकले दिन थाले ब्याज छुट, कस्ता ऋणीले पाउने ऋणी माझ अन्योल !

काठमाडौं, २४ चैत । चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकले चैत्र १६ गते एकिकृत निर्देशन जारी गर्दै कोरोना भाइरसले ल्याएको आसहज परिस्थितिका कारण छुटको घोषणा गरेको थियो ।

बैंकको निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेसँगै ब्याज छुटको सहुलियत कस्ता ऋणीले पाउने कस्ताले नपाउनेबारे केहि अन्योल देखिएको छ ।

राष्ट्र बैंकले यो छुट सबै ‘टर्म लोन’ अर्थात किस्ताबन्दीमा ऋण लिएकाहरुलाई लागु हुने जनाएको छ।

दिर्घकालिन ऋण, १ वर्ष भन्दा बढीको भाखा भएका ऋण, त्रैमासिक किस्ता तिर्नु पर्ने ऋण, निश्चित रकम किस्ता भुक्तानी गर्नु पर्ने प्रकृतिको ऋण, मासिक किस्ता तिर्नु पर्ने लगायतले यो सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

‘वार्किङ क्यापिटल लोन’ अर्थात् चालु पुँजी कर्जाले भने ब्याजमा छुटको सुविधा पाउने छैनन् । यस्ता ऋणीलाई ऋण तिर्ने समयअवधि थप हुने तर ब्याजमा भने छुट नपाउने राष्ट्र बैंकले जनाएको छ ।

चैत मसान्तभित्र भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालु प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।

कोभिड–१९ को महामारीको कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित पर्यटन, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैंकले विशेष प्याकेज घोषणा गरेको थियो ।

‘०७६ चैतमा असुल गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी ०७७ असारसम्म हुने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । उक्त किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने पनि राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

राष्ट्र बैंकको यस सम्बन्धि ब्यबस्था :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here