त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?

इन्द्रबहादुर सिंह

म पेरिस पुग्दा त्यहाँको अर्थ मन्त्रालयले नेपालमा दूतावास आवश्यक छैन भनेर बन्द गर्न सिफारिस गरेको रहेछ । राष्ट्रपति ज्याक सिराकले हस्तक्षेप गरेर बन्द हुनबाट बचाउनु भएको थियो ।

सबैभन्दा पहिले फ्रान्ससँग आर्थिक सम्बन्ध विकास गर्नमा मैले नै भूमिका निर्वाह गरेको छु । सन् १९८० मा म पेरिसमा काार्यवाहक राजदूत भएका बेला अर्थ मन्त्रालय वैदेशिक महाशाखा हेर्ने सचिव हितसिंह श्रेष्ठ विश्व बैंकको कार्यक्रममा जान लागेको थाहा पाएँ । पहिले आर्थिक योजना मन्त्रालयमा काम गरेको हुनाले चिन्ने भएका कारण मैले उहाँलाई पेरिस आउन अनुरोध गरेँ । उहाँले सीधै भन्नुभयो, ‘किन आउने ? पैसा दिने होइनन् । ऋण विश्व बैंकले जति पनि दिन्छ ।’ मैले ठूलो देशलाई सहभागी गराउनुपर्छ भनेर जोड गरेपछि उहाँ आउनुभयो ।

२० अप्रिल १९४९ मा फ्रान्ससँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलोपटक हामीले आर्थिक सहमतिपत्रमा हस्ताक्षर गर्यौं । त्यसपछि फ्रान्सबाट डेढ अर्ब जति आयो र विद्युत प्रशारण लाइनमा खर्च भयो । साथै दुई ओटा पूमा हेलिकप्टर र सैनिक अस्पतालका लागि सामग्रीसमेत उपलब्ध भयो ।

सन् १९८० तिर बेलायती दूतबासमा मैले चिनेका एकजना प्रथम सचिव हुनुहुन्थ्यो, जोन होल्मस् । उहाँ अलिअलि नेपाली बोल्नुहुन्थ्यो । पछि म पेरिसमा राजदूत हुँदा उहाँ पनि बेलायतको राजदूत भएर आउनुभयो । त्यसअघि उहाँ आफ्नो देशको प्रतिनिधि भएर विश्व बैंकमा जानुभएको रहेछ । एकदिन उहाँ मसँग शिष्टाचार भेट गर्न आउँदा कुरैकुरामा अरुण तेस्रोको प्रसंग निस्कियो । उहाँले ‘त्यस्तो राम्रो परियोजना विश्व बैंकमा अहिलेसम्म आएकै थिएन, त्यो जाँदा म ज्यादै दुखी छु’ भन्नुभयो ।

मैले हाम्रै देशका नेताको गल्तीले गर्दा त्यस्तो भयो भनेर चित्त बुझाउन खोज्दा प्रतिवाद गर्दै उहाँले भन्नुभयो, ‘कसले भन्यो यस्तो गलत कुरा ? म आफै त्यसमा संलग्न छु, मलाई सबै थाहा छ । कहाँ त्यो नेपालको राजनीतिक दलको चिठ्ठीले गर्दा भएको हो र ? त्यो ति तिम्रो छिमेकी देशको दबाबले गर्दा रद्द भएको हो ।’

नेपालमा चाहीँ नेकपा (एमाले)ले पत्र लेखेका कारण आयोजना रद्द भयो भन्ने आरोप लाग्यो ।

फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो । सन् २००२ मा फ्रान्सको विमानस्थलका प्रमुखले अवकाश पाएपछि एउटा प्रस्ताव आएको थियो, ‘मसँग धेरै लामो अनुभव छ, म केही गर्न चाहन्छु । ल्ुम्बिनीमा हामीले अध्ययन गरिसकेका छौं, विमानस्थल र होटल बनाउँछौं । लगानी हामी नै गर्छौं । कसरी गर्ने – लागत वा नाफा ? तपाईंहरु तय गर्नुस् ।’

उहाँले विश्वका विभिन्न देशबाट सीधै लुम्बिनीमा उडान गर्ने र वौद्ध धर्मावलम्बी पर्यटकलाई ठूलो मात्रामा नेपाल पुर्याउने योजना अघि सार्नु भएको थियो । मैले पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौतलाई फोन गरेर सबै बताएँ, उहाँले नेपाल पठाइदिन भने अनुसार पठाएँ । कुराकानी हुन नपाउँदै पत्रपत्रिकामा समाचार मात्रै आयो । नेपाल वायुसेवा निगमसँग कुराकानी हुँदा सार्थक परिणाम आएन । शायद कुरा उही मिलेमतोको थियो ।

नेपाल वायुसेवा निगमसँग सहकार्य गर्न विभिन्न कम्पनी इच्छुक थिए । स्पेनको एउटा कम्पनीले हाम्रो जहाज नियमित चलाइदिने हो भने ८० प्रतिशत यात्रुको जिम्मा लिन र नाफा बाँड्न तयार भएर प्रस्ताव गर्दा स्वीकार गरिएन । एकपटक म नेपाल वायुसेवा निगमको जहाजमा फ्र्यांकफर्टबाट पेरिस जाँदा जम्मा पाँच जना यात्रु थियौं । यस्तो अवस्था रहँदासम्म पनि ध्यान नदिएपछि त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?

(सिंह जनवरी १९९८ देखि अप्रिल २००३ सम्म फ्रान्सका लागि शाही नेपाली राजदूत रहेका थिए । त्यसभन्दा अघि उनी इजिप्ट, फ्रान्स र पाकिस्तानमा नियोग उपप्रमुख समेत थिए । यो लेख विष्णु रिजाल सम्पादित ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ पुस्तकबाट साभार गरिएको हो । यो छोटो अंशमा सिंहले नेपालमा पर्यटन, जलविद्युत र उड्यनको विकास हुन नसक्नुका केही कारण प्रस्तुत गरेका छन् जसको सान्दर्भिकता अहिले पनि भएकाले हामीले पुनः प्रकाशन गरेका हौं । ४० वर्षपछि आउँदा अरुण तेस्रो भारतीय राज्य नियन्त्रित कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ भने भैरहवा विमानस्थल आगामी आर्थिक वर्षमा मात्र बनिसक्नेछ । त्यस्तै नेपाल वायुसेवा निगम जीवनमरणको दोसाँधबाट उम्किन सकेको छैन । – सम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here