असारदेखि ६ चरणमा लकडाउन खोल्ने सरकारको तयारी, यस्तो छ खाका

काठमाडौं, २३ जेठ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नाइन्टिन क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सीसीएमसी’ ले लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको छ ।

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न खाका तायार पारेको हो । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयारी गरिरहेको छ । तर हरेक दिन कोरोना संक्रमित बढिरहेकाले सरकारले ठोस निर्णय भने गरेको छैन ।

सीएमसीले तयार पारेको योजनामा असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ । पहिलो चरणमा कृषि क्षेत्र खुकुलो बनाउने सीएमसीको कार्ययोजना छ ।

प्रस्तावअनुसार सुरक्षात्मक उपायहरू अपनाएर सामाजिक दूरी कायम गर्दै दूध, अन्नबाली, तरकारी फलफूलको बिक्री वितरण, बस्तुभाउ, सम्पूर्ण कृषिजन्य उत्पादन आंशिकरूपमा खुला गरिने छ । असार १ पछिको २ हप्तालाई पहिलो चरणको रुपमा लिइएको छ ।

पहिलोचरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् ।

दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइनेछ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ ।

तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिीय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ । कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।

चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ ।

पाचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् ।

छैठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई शिल्ड गर्ने गरी प्रस्ताव तयार भएको छ ।

सीएमसीले हालसम्मको कोरोनाभाइरस सङ्क्रमणको अवस्था र सङ्क्रमितहरूको सङ्ख्याको आधारमा दुई प्रकारका जिल्ला छुट्टयाएर मोडालिटी लागु गर्न पनि प्रस्ताव गरेको छ ।

संक्रमणको अवस्था हेरेर पहिला जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न सकिने प्रस्ताव छ । क्षेत्र छुट्याउँदा कोरोना भाइरसकोको प्रकोप नियन्त्रण गर्न सजिलो हुने ‘सीसीएमसी’को अनुमान छ । दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिएको छ ।

सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ । निश्चित स्थान र समयका लािग आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने पनि प्रस्ताव छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here