नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने, ठूलो मन्दीमा विश्व अर्थतन्त्र

काठमाडौं, २७ जेठ । विश्व बैंकले नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको छ।

सरकारले आगामी आर्थिक वर्ष का लागि ७ प्रतिशतको वृद्धिदरको लक्ष्य राखे पनि विश्व बैंकले लक्ष्यभन्दा निकै तलमात्र वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

बैंकले सोमबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स- २०२०’ प्रतिवेदनमा कोरोनाभाइरस महामारीका कारण यस वर्ष विश्व अर्थतन्त्र बृहत संकुचनमा खुम्चिए र नेपालको विकास दर १.८ प्रतिशतमा सिमित रहने उल्लेख छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस वर्ष नेपालको वृद्धिदर १.२ मात्र रहने जनाइसकेको छ ।

विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्था भने २.७ प्रतिशतमा सिमित रहने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६ नकारात्मक, आफगानिस्तानको ५.५ नकारात्मक र बंगलादेशको १.६ प्रतिशत रहने विश्व बैंकले जनाएको छ।

चालू वर्ष २०२० मा भने यो विश्व संकटका कारण सबैभन्दा बढी प्रभावित हुने अर्थतन्त्रमा माल्दिभ्स परेको छ, उसको अर्थतन्त्र १३ प्रतिशतले ऋणात्मक रहने बैंकको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले विश्व अर्थव्यवस्थामै भने दोस्रो विश्व युद्धपछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी आउने जनाएको छ।

यो वर्ष विश्व अर्थव्यवस्थामा ५.२ प्रतिशतको गिरावट आउने विश्व बैंकको प्रक्षेपण छ। ‘सन् १८७० पछि यो पहिलोपटक हुनेछ कि कुनै महामारीबाट विश्व अर्थव्यवस्थामा मन्दी आएको छ’, अध्यक्ष मालपासले भनेका छन्।

विकसित अर्थतन्त्रहरू आन्तरिक माग र आपूर्ति, व्यापार र वित्तीय कारोबारमा परेका असरका कारण ७ प्रतिशतले संकुचित हुने तथा उदीयमान बजार र विकासशील अर्थव्यवस्थाहरू यस वर्ष २.५ प्रतिशतले संकुचित हुने बैंकले जनाएको छ । यो कम्तिमा ६० वर्षयताकै पहिलो संकुचन हो ।

प्रतिव्यक्ति आयमा ३.६ प्रतिशतले कमी आउँदा लाखौं मानिसलाई चरम गरीबीमा धकेल्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here