‘गोरखा’ भूकम्पको चार वर्ष : किन ढिलो हुँदैछ पुनर्निर्माण ?

काठमाडाैं, १२ वैशाख । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको ‘गोरखा’ भूकम्प गएको आज ४ वर्ष पूरा भएको छ ।

उक्त विनाशकारी भूकम्पका कारण नेपालमा करीब ९ हजार जनाले ज्यान गुमाए भने २० हजारभन्दा धेरै घाइते भए । भूकम्पपछिको चार वर्षको अवधीमा ४ हजार भन्दा धेरै पराकम्प गएकाे छ ।

‘गाेरखा’ भूकम्पको कारण गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपूर, भक्तपूर, सिन्धुपाल्चोक, रसुवा, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, ओखलढुंगा गरी १४ जिल्लामा धेरै क्षति भयो । ती बाहेक अन्य जिल्लामा पनि क्षति भयाे ।

‘गोरखा’ भूकम्पको १७ दिन पछि वैशाख २९ मा दोलखाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.३ रेक्टर स्केलको अर्को भूकम्प गयो जसको कारण थप १५३ जनाको ज्यान गयो भने थप संरचनाहरु भत्किए ।

‘गाेरखा’ भूकम्पको कारण लाखौं आवासिय घरहरुमा क्षति पुग्यो । हजारौं विद्यालय भवन, स्वास्थ्यसंस्था तथा सरकारी कार्यालयहरुमा क्षति भयो । विभिन्न ऐतिहासिक धार्मिक सम्पदाहरुमा क्षति पुग्यो । भूकम्पको कारण देशलाई २० खर्ब भन्दा बढीको आर्थिक क्षति भएको तथ्यांक छ ।

किन ढिलाे हुँदैछ पुनर्निर्माण ?

भूकम्पपछिको पुनर्निर्माणको लागि सरकारले भूकम्प गएकाे ८ महीनापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै गठन गरेर पुनर्निर्माणको काम ५ वर्षभित्र सक्ने गरी सबै जिम्मेवारी प्राधिकरणलाई दिए पनि पुनर्निर्माणको काम अपेक्षित गतिमा हुन सकेको छैन ।

राजनीतिक चलखेलकाे कारण पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पटकपटक फेरिएकाले पनि पुनर्निर्माणमा ढिलाइ भएकाे हाे । त्यस्तै भूकम्प लगत्तै संविधान जारी गरेपछि भारतले लगाएकाे नाकाबन्दीकाे कारण पनि पुनर्निर्माणमा ढिलाइ भयाे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने पुन निर्माणमा वित्तीय व्यवस्थापन चुनाैती रहेकाे र त्यसले पुनर्निर्माणको बाँकी काम  गर्न ढिलाइ भएकाे दाबी गरेकाे छ ।

गत मंगलबार मात्रै २०७२ सालको विनाशकारी भुकम्पको चार वर्षे समीक्षा गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले वित्तीय व्यवस्थापन पुनर्निर्माणमा सबैभन्दा ठूलो चुनौती बनेको बताउँदै पुनर्निर्माण सम्पन्न गर्न थप ४ खर्ब २९ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले बताए ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल रु. ९ खर्ब ३८ अर्ब रकमको आंकलन गरिएको थियो । जस मध्ये आर्थिक वर्ष ०७४/७५ सम्म कुल रु. १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा रु. १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट करिव रु. २ खर्ब परिचालन हुने अपेक्षा प्राधिकरणको छ ।

यस हिसाबले पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव रु. ४२९ अर्ब रकम आवश्यक पर्ने उनले बताए ।

पुनर्निर्माणमा कस्ताे प्रगति हुँदैछ ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई प्रथमिकतामा राखेर काम गरेको जानकारी दिएको छ ।

भूकम्पले पूर्णरूपमा भत्काएर सरकारसँग पुनर्निर्माणकाे लागि  सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेका छन् ।

त्यसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार परिवारले घर पुनर्निर्माण सम्पन्न गरेका छन् भने ३० प्रतिशत अर्थात २ लाख ३० हजार परिवार घर पुनर्निर्माणका क्रममा छन् ।

त्यसैगरी, भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ, जसमा ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणले जनाएको छ जसमा ५४ प्रतिशत अर्थात ६ सय ४३ को पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशत अर्थात १ सय ४५ पुनर्निर्माणको क्रममा छन् ।

पुरातात्विक महत्वका सम्पदा मध्ये २ सय २४ वटा अर्थात ३० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको र २ सय २१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here