बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, सात पालिका अझै बैंकविहीन

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ बैशाख मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २३, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ९० र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार ६ सय ९५ वटा पुगेको छ । गत असारसम्म शाखा संख्या ८ हजार ६ सय ८६ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

बैशाख मसान्नसम्म वाणिज्य बैंकको शाखासंख्या ४२१९ रहेको छ । विकास बैंकको १२१६, वित्त कम्पनीको २३९ र लघुवित्त वित्तीय संस्थाको ४०२१ शाखा रहेका छन् ।

यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ वैशाख मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेका छन्।

बैंक तथा वित्तीय संस्थाको संख्यामा वृद्धि, शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोगको वृद्धिसँगै वित्तीय पहुँच विस्तारले तीब्रता पाएको अध्ययनको निष्कर्ष छ ।

नेपालका ७ स्थानीय तह वाणिज्य बैंकविहीन

मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७७ बैशाख सम्ममा नेपालका ७ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् । तथ्यांक अनुसार प्रदेश १ को एक स्थानियतह, बागमतीमा दुई, गण्डकीमा एक, कर्णालीमा एक र सुदूर पश्चिममा दुई स्थानिय तहमा शाखा पुग्न बाँकी रहेको छ ।

स्थानीय तहका सबै वडासम्म वित्तीय सेवाको पहुँच पुर्‍याउन बैंक शाखा नभएका वडाहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै, लघुवित्त वित्तीय संस्थाले महानगरपालिका, उप–महानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपश्चात् मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापना गर्न सक्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here