तीन लाखको औषधी किनेको सेनाको दाबी, मिडियाले हचुवामा समाचार लेखेको आरोप

काठमाडौं, ४ असार । नेपाली सेनाले खरीपाटी क्वारेन्टिनमा भएको औषधी तथा स्वास्थ्य सामग्री खरीदसम्बन्धी खरीदको समाचार मिडियाले हचुवाका भरमा प्रकाशन तथा प्रशारण गरेको आरोप लगाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सेनाले सेनाको कार्यलाई वेवास्ता तथा अवमूल्यन गरी केही सञ्चारमाध्यमले सस्तो लोकप्रियताको लागि प्रायोजित ढंगबाट क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावली २०६४ को नियम १४५ को उपनियम ३ मा व्यवस्था भए बमोजिम खरिद सम्बन्धी जानकारी जेठ २० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो,’ सेनाले भनेको छ ।

उसका अनुसार वास्तविकतालाई तोडमोड गरि गहन अध्ययन वेगर रु. ३ लाख ३३ हजार औषधी खरिद भएकोमा रु. ७३ लाख ९८ करोड भनि एउटै मात्र आधार लिई हचुवाको भरमा पाठक वर्गलाई दिग्भ्रमित पार्ने र सैनिकको मनोबल कमजोर तुल्याउने प्रयास प्रति सचेत रहन उसले आग्रह गरेको छ ।

सेनाको नेतृत्वमा २०७६ फाल्गुन ४ गतेदेखि २० गतेसम्म चीनबाट ल्याईएका १ सय ७५ जना नेपाली विद्यार्थीहरुलाई भक्तपुर खरिपाटी क्वारेन्टिनमा १७ दिनसम्म आवश्यक सुविधासहित राखिएको थियो ।

भक्तपुर खरिपाटीस्थित क्वारेन्टिन व्यवस्थापनको अवधिमा स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशिल र राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको कार्यलाई सफलतापूर्वक, सम्पन्न गर्न आवश्यक पूर्व तयारी गरि पारदर्शी रुपमा सम्पन्न गरिएको सेनाको भनाइ छ ।

उक्त क्वारेन्टिन व्यवस्थापनको लागि कुल विनियोजित रकम रु. १ करोड २९ लाखमध्ये खानातर्फ रु. ५५ लाख १ हजार र औषधी तथा औषधीजन्य सामग्रीहरुतर्फ रु ७३ लाख ९८ हजार विनियोजन भएको थियो ।

औषधी खरीदमा रु. ३ लाख ३३ हजार र औषधीजन्य सामग्री खरिदमा रु. ६३ त्रिसठ्ठी लाख ३७ हजार खर्च गरी बाँकी रु ७ लाख २८ हजार कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको सेनाले बताएको छ ।

रु. ३ लाख ३३ हजारको औषधी मध्ये रु. १३ हजार १ सय ७९ बरावरको औषधी खर्च भई बाँकी रु. ३ लाख १९ हजार बरावरको औषधी पुनः प्रयोगमा ल्याउने गरी सुरक्षित राखिएको पनि उसको भनाइ छ ।

प्रयोग भईसकेको केहि औषधीहरु सोही क्वारेन्टिन स्थलमा नै प्रयोग गर्ने गरि छोडिएको र केहि औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको पनि उसले बताएको छ ।

सेनाका अनुसार ६३ लाख ३७ हजारको औषधी र औषधीजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आतेजाते कार्यमा खटिएका व्यक्तिहरु, क्वारेन्टिनमा नियमित कार्यमा प्रयोग गरिने पीपीई, इन्फ्रारेड थर्मोमिटर, मास्क, पञ्जा, स्यानिटाइजर, डिस्इन्फेक्ट्यान्ट, फोहर ढुवानी ट्रली र फगर मेशिन खरीद गरिएको थियो ।

उक्त स्वास्थ्य सामग्रीहरु मध्ये प्रयोग पछाडि डिस्पोज तथा उपभोग गरिने सामान बाहेक रु २३ लाख ३० हजार बरावरको औषधीजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको सेनाले जानकारी दिएको छ ।

उक्त अवधिभर क्वारेन्टिनमा रहने १ सय ७५ जना स्वदेश फर्किएका नेपाली विद्यार्थीहरु, नेपाल वायुसेवा निगमका १८ जना, चिकित्सक समूह, सफाईकर्मी तथा एम्बुलेन्स टोली सहित ९ गरि जम्मा २ सय २ जनालाई स्तरिय प्याकिङ्ग सहितको स्वस्थकर खाना खुवाउनको लागि चार प्रकारका मेनु(१ शाकाहारी र तीन प्रकारका मांसाहारी) अनुसार दिनको चार छाकको व्यवस्था गरिएको थियो ।

कोभिडको त्रासका कारण अन्य केटरिङ्ग अनिच्छुक भएको अवस्थामा दैनिक खानाको लागि कार्की केटरिङ्गले प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु १ हजार ३ सय ५० मा खाना खुवाएको सेनाले बताएको छ ।

साथै उक्त क्वारेन्टिनमा सुरक्षार्थ खट्टिएका ३० जना सुरक्षाकर्मीहरुलाई खाजाको व्यवस्था गरिएको थियो भने सोहि भित्रबाट पानी, कफि र चियाको छुट्टै प्रबन्ध समेत गरिएको थियो