सात स्थानमा प्लाज्माथेरापीको लागि रक्त संकलन सुरू

खिम वहादुर रानाभाट

काठमाडौं, २५ भदौ । नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ ।

बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गरे ।

कोरोना संक्रमण निको भएका तनहुँ घर भई हाल काठमाडौं बस्दै आएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भने, ‘मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता हिजै सम्पन्न भएको छ ।

बुधबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ ।

त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ ।

कार्यक्रममा उपस्थित काठमाडौँ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष निलकाजी शाक्यले रक्तदानका लागि वडामा बसोबास गर्ने संक्रमण निको भएकाहरुको खोजी गर्ने र रक्तदानमा उत्प्रेरीत गर्ने कार्य काठमाडौं महानगरपालिका वडा नं. २५ र २७ ले गरिरहेको जानकारी दिए ।

लायन्स क्लब ब्लडसर्कलले रक्तदान गर्नेहरुलाई उत्प्रेरणा र सम्मान गर्ने गरी समन्वय गरिएको पनि वडाध्यक्ष शाक्यले बताए ।

काठमाण्डौँ बाहिर सुरु भइसक्यो
स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेका छन् । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने रेडत्रसका निर्देशक दिब्यराज पौडेलले जानकारी दिए ।

प्लाज्मा थेरापीको लागि ६ पिन्ट संकलन गरेकोमा चारजना कोभिड विरामीलाई सो प्लाज्मा उपलव्ध गराइसकिएको धरानबाट किरण कार्कीले बताए ।

त्यस्तै कैलालीबाट इश्वर जोशीले दिएको जानकारी अनुसार कोभिड निको भएका त्यहाँ ६ जनाले रक्तदान गरेको र एक जना विरामीलाई चढाइसकिएको छ ।

रमेश पौडलका अनुसार चितवनमा चार पिन्ट रगत संकलन गरिएकोमा विरामीलाई दुई पिन्ट चढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here