भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भने – अब लोडसेडिङ हुँदैन

काठमाडौँ, ३० कात्तिक । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटेका शाक्यले यस्तो बताएका हुन् ।

‘लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुने र त्यो समयमा विद्युत माग पनि अत्याधिक हुने भएकाले त्यसको व्यवस्थापनका लागि भार प्रेषण केन्द्रको कन्ट्रोल रुममै रहेर हाम्रो टीम व्यवस्थापनमा खट्यो,’ शाक्यले भने ।

‘हामीले पीक आवरमा बढीमा १ हजार १ सय ५० मेगावाटसम्म विद्युत खपत हुने अपेक्षा गरेका थियौँ । तर, करिब १ हजार १ सयको वरीपरी मात्रै खपत भयो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गुनासो आएन सबैले झिलीमिली बत्ती बाल्ने वातावरण निर्माण भयो । हामी खुशी छौँ,’ उनले थपे ।

अघिल्लो वर्ष पीक आवरमा १ हजार १ सय २८ मेगावाट विद्युतको माग भएको भन्दै त्यसैको आधारमा बढीमा १ हजार १ सय ५० मेगावाटसम्म खपत हुने अपेक्षा गरेको उनको भनाइ थियो ।

‘त्यसैलाई आधार मानेर हामीले १ हजार १ सय १० देखि ५० सम्मको अपेक्षासहित थप २ सय मेगावाट रिजर्भमा राखेका थियौँ,’ शाक्यले भने, ‘त्यसैको व्यवस्थापनका लागि शुक्रबार म मध्यरातसम्म भार प्रेषण केन्द्रमै खटेको थिएँ ।’

आगामी दिनमा पनि अब लोडसेडिङको समस्या नहुने उनको दाबी छ । प्राविधिक कारणले फिडर, ट्रान्सफर्रमरलगायतमा भएको समस्यालाई तत्काल समाधान गर्न सकिने बाहेक अरु समस्या नहुने उनले बताए ।

‘त्यसका लागि हामीले ‘नो लाईट’ टीमलाई तयारी अवस्थामा राखेका छौँ । त्यो टिम तत्काल परिचालन गरी समस्या समाधान गर्न सक्छौँ,’ शाक्यले भने, ‘अब मेरो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने छ । राष्ट्रिय विद्युत् प्रसारणलाइन (ट्रान्समिसनलाइन) निर्माण पनि मेरो प्राथमिकतामा छ ।’

भार प्रेषण केन्द्रका प्रमुख प्रणाली सञ्चालन विभागका प्रमुख सुरेशबहादुर भट्टराईले पनि दिपावलीको लक्ष्मीपुजाका लागि हरेक वर्ष योजना बनाउँदै आएको भन्दै यो वर्ष पनि १ हजार ३ सय २० मेगावाट विद्युत रिजर्भ राखेको बताए ।

‘प्राधिकरणको ५ सय २०, आइपीपी ४ सय ६० डीएम इम्पोर्टबाट ५०, टनकपुरबाट ३०, कटैयाबाट ६० मेगावाट इम्पोर्ट गरेर व्यवस्थापन तयारी गरेका थियौँ,’ उनले भने, ‘यो भन्दा २ सय मेगावाट बढी लोड आएको भए पनि हामी सजिलै व्यवस्थापन गर्न सक्ने अवस्थामा थियौँ । हामीसँग सप्लाई जति धेरै थियो त्यो अनुसारको डिमाण्ड आएन । जसका कारण हामी सजिलै व्यवस्थापन गर्न सफल भयौँ ।’

सम्बन्धित समाचारः

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

चार्जिङ स्टेसनको विद्युत् महसुल प्रतियुनिट ४ रुपैयाँ ६० पैसा मात्र

२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको सहवित्तीयकरण

कञ्चनपुरमा लोडसेडिङको तालिका सार्वजनिक !

सकियो कुलमानको कार्यकाल, सबैको चासो अब प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here