हस्तकलाको अनलाइन मार्केटिङमा सञ्चार मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं, २८ मंसिर । हस्तकलाको अनलाइन मार्केटिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताउँदै अनलाइन मार्केटिङमा सहजीकरण गर्न आफू तयार रहेको बताएका हुन् ।

नेपाल हस्तकला महासंघको ४८औं बार्षिकोत्सव, नवौं हस्तकला दिवस र हस्तकला बर्षको आइतबार शुभारम्भ गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सोबारेमा सुझाव दिन पनि उनले महासंघलाई आग्रह गरे ।

निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्टिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकार नीतिगत सुधार गर्ने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए ।

हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उनको भनाइ थियो ।

सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको गुनासो गरे ।

बिशेष गरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग ब्यवसायले रोजगारी सिर्जना गरी निर्यात ब्यापार मार्फत एवम् आन्तरिक उपभोगबाट रु. २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको छ ।
यस व्यवसायमा ११ लाख भन्दा बढी ब्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको महासंघको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here