नयाँ वर्ष २०२१ : आर्थिक रुपमा सवल बन्न आजैबाट शुरु गर्नुहोस् यी काम

काठमाडौं । सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ। नयाँ वर्ष २०२१ को सुरुवात भएको छ ।

२०२० ले हामीलाई धेरै कुरा सिकाएर गयो । चीनको बुहान राज्यबाट फैलिएको कोरोना महामारीको कारण महिनौंसम्म एउटै कोठामा थुनिएर बस्नु पर्ने अवस्था आयो ।

विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ।

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पर्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो।

निजी क्षेत्रमा काम गर्ने मानिसहरु यो समयमा निकै प्रभावित भए । निम्न आयस्तर भएका व्यक्ति यो समयमा धेरै प्रभावित भए भने मध्यम आय भएका व्यक्तिपनि २०२० मा विभिन्न प्रकारका आर्थिक समस्याबाट प्रभावित बन्नुपर्‍यो ।

२०२० ले हामीले केही मात्राम भएपनि बचत गर्नुपर्छ भन्ने कुराको राम्रै शिक्षा दिएर गएको छ । भोलीका दिनमा पनि कोरोना जस्तै अन्य संक्रमणहरु आउन सक्ने भएको कारण त्यो समयमा आजको जस्तो आर्थिक समस्या नपरोस भन्नको लागि आर्थिक रुपमा सबल हुन निकै आवश्यक छ । आर्थिक रुपमा सवल बन्नको लागि आजैबाट यी कु्रामा ध्यान दिनुहोस्ः

बैंक खाता र बचत गर्ने बानी

आफूसँग भएको केही पैसालाई सुरक्षित तवरले राख्न होस् वा कुनै प्रकारको आर्थिक सहायता लिन यसको लागि बैंक निकै विश्वासिलो मानिन्छ । त्यसकारण तपाईंसंग बैंक खाता छैन् भने २०२१ को पहिलो काम बैंकमा खाता खोल्नुहोस् ।

बैंकमा खाता खोलेसँगै आफूसँग भएको धेरै थोरै रकमलाई बचत गर्ने बानी बनाउनुहोस् । बचत भएको पैसाले अप्ठ्यारो परेको समयमा निकै काम दिन्छ ।

वीमा गर्नुहोस्

वीमा किन आवश्यक छ भन्ने कुरा हामीलाई २०२० ले प्रष्ट रुपमा देखाइदिएको छ । वीमा गर्दा भविष्यमा आइपर्ने विभिन्न प्रकारका समस्याहरुबाट सुरक्षित रहन सकिन्छ भने, तपाईको परिवारलाई सुखी र खुसी राख्नका लागि समेत मद्धत गर्दछ । त्यसकारण भविष्यमा आइपर्न सक्ने समस्याबाट सुरक्षित रहनको लागि वीमा गर्न आवश्यक छ ।

वित्तीय साक्षरता

आर्थिक रुपमा सवल बन्नको लागि वित्तीय साक्षरता निकै आवश्यक छ । पैसाले पैसा तान्ने भएको कारण आफुसंग भएको सानो पुँजीलाई लगानी गर्दै धेरै पुँजी बनाउनको लागि वित्तीय साक्षरता आवश्यक छ । यसको लागि कुन क्षेत्रमा लगानी गर्ने, कुन मात्रामा लगानी गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ ।

पुँजी भएपनि लगानी गर्ने क्षेत्र छनोट गर्न नजान्दा टाट पल्टिएका उदाहरणपनि प्रशस्तै छन् । नयाँ वर्षबाट आफुलाई आर्थिक हिसावले नयाँ उचाइमा पुर्याउनका लागि समेत वित्तीय ज्ञान लिनुहोस् ।

उद्यमशीलतामा जोड

नयाँ वर्षमा उद्यमशिल सोँचलाई विशेष ध्यान दिनुहोस् उद्यमशील सोचले मानिसहरुलाई आत्मनिर्भर भइ जीवन चलाउन सक्ने बनाउने मात्रै होईन् अरुलाई समेत आश्रित बनाउँदछ । त्यसकारण उद्यमशिल बन्नको लागि आफूलाई मनपर्ने क्षेत्रमा तालिम लिनुहोस् र त्यसलाई उद्यमको रुपमा अघि बढाउनुहोस् ।

लगानीमुखी सोच बनाउनुहोस्

तपाई भविष्यमा व्यवसायी बन्ने सोचमा हुनुहुन्छ भने आजैबाट पुँजी संकलनमा जोड दिनुहोस् । यसका अलवा कुन क्षेत्रमा लगानी गर्ने र यसको लागि कति रकम आवश्यक पर्छ यो कुराको अध्ययन गर्नुहोस् । योसँगै आफूले अनुमान गरेको रकम जम्म भएसंगै लगानी गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here