रुपन्देही र पाल्पा जोड्ने लुम्बिनी केबुलकारको शिलान्यास

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा सनिबार उनले केबलकारको शिलान्यास गरेका हुन् ।

बुटवल उप–महानगरपालिका— ३, बमघाटमा तल्लो स्टेसन रहने लुम्बिनी केबुलकार पाल्ला जिल्लाको तिनाउ गाउँपालिकास्थित बसन्तपुर डाँडासम्म गरी कुल तीन किलो मिटर लामो हुने छ ।

यसबाट १० मिनेटको यात्रामा तराई, पहाड तथा हिमाली भुभागको दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र तथा बुद्ध जन्मथलनिकट रहने यो केबलकारले नेपालको आन्तरिक तथा वाह्य पर्यटनको विकास र विस्तारको लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ महाव्याधिका कारण सर्वाधिक प्रभावित पर्यटन क्षेत्रलाई उकास्न लुम्बनी केबुलकार महत्वपूर्ण योजना बन्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी भ्रमणका लागि आउने जो कोहीका लागि पनि केबुलकार एउटा पुग्नै पर्ने गन्तव्य बन्न जाने पनि उनले बताए ।

लुम्बिनी क्षेत्र आदिमानव रामापिथेकसको अवशेष फेला परेको र कपिल मनु, गौतम बुद्ध, योगका प्रवर्तक पतञ्जली, संस्कृत व्याकरण निर्माता पाणिनि जस्ता ऋषिहरुको थलो भएको पनि उनको भनाइ थियो ।

चितवनमा अयोध्यापुरीको कुरालाई लिएर प्रमाणको विषय उठाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘हामी कहाँ मेसोपोटामियाको जस्तो फुटेका हाँडी फेला नपर्ला तर जनश्रुति र व्यवहारिक निरन्तरताका आधारमा पुराना कुराहरुलाई पुुष्टी गर्न सकिन्छ ।’

भौगोलिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले अब्बल भए पनि यो क्षेत्र विभिन्न कारणले पछि परेको बताउँदै प्रधानमन्त्रीले अब सरकारसहित सबै क्षेत्र मिलेर अघि बढाउनु पर्ने समेत बताएको उनको सचिवालयले जानकारी दिएको छ । ‘यसका लागि सरकारले पुर्वाधारमा लगानी गरिदिन्छ’, सचिवालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुिम्बनी क्षेत्रको पर्यटन उकास्न केबलकार सफल परियोजना बन्ने विचार व्यक्त गरेका थिए भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केबुलकार व्यवसायिक दृष्टिलेसमेत उपयोगी परियोजना बन्ने देखिएको भन्दै यसले सम्मृद्धि प्राप्तिमा बहुआयामिक योगदान गर्नसक्ने बताए ।

मोनोकेबल डिट्याचेबल गोण्डोला प्रणालीको लुम्बिनी केबुलकारमा बटम स्टेशनदेखि टप स्टेशनसम्म पुग्न १० मिनेट लाग्नेछ । यो केबुलकारले प्रतिदिन ६ हजार यात्रुलाई समुद्री सतहबाट नौ सय ४० मीटर उचाईमा बसन्तपुर डाँडामा पु¥याउनेछ ।

कूल अनुमानित लागत ३ अर्ब ५० करोड रुपैयाँ रहेको भारतीय सीमा क्षेत्रबाट नजिक पर्ने यो केबलकारले देशको आर्थिक तथा पर्यटकीय क्षेत्रलाई महत्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।

यससँगै बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरुत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाइने जानकारी पनि कार्यक्रममा दिइयो ।

सम्बन्धित समाचारः

मनकामना केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने

‘पहाडकी रानी’ बन्दिपुरमा केबलकार बन्ने, बटम स्टेशन निर्माण सुरू

अब गोसाईकुण्ड यात्रा केबलकारबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here