कुरिलो प्रतिकेजी ४ हजार !

जितेन्द्र खनाल

काठमाडौं, १८ फागुन । कुरिलोको माग पछिल्लो समय अचाक्ली बढेको छ । माग अत्याधिक बढेको र उत्पादन सिमित मात्रामा भएको कारण मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

यसको खेती सीमित मात्रामा हुने गरेको छ। मौसमी तरकारीका रूपमा रहेको कुरिलो दैनिक बजारमा आउने तरकारी जस्तो सहज र सुलभ छैन।

कुरिलो कहिलेकाहीँ बजारमा आउँछ, छिटै बिक्री पनि भइहाल्छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘यतिबेला अफसिजन हो। सीमित मात्रामा पाइन्छ तर महंगो पर्न सक्छ।’ ’

१० महिनामा ५२०० केजी कुरिलो कालीमाटी भित्रियो

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार गएको १० महिनाको अबधीमा ५२०२ केजी कुरिलो कालीमाटी भित्रिएको छ ।

यस समयमा भक्तपुर, चितवन, कास्की र मोरङबाट मात्रै कुरिलो कालीमाटी भित्रिएको समितिको तथ्यांकले देखाउछ । सबैभन्दा धेरै मोरङबाट कुरिलो भित्रिएको छ । मोरङबाट मात्रै ३ हजार १८० केजी कुरिलो कालीमाटी भित्रिएको छ ।

त्यस्तै, भक्तपुरबाट १ हजार ३६७ केजी, कास्कीबाट ४५० र चितवनबाट २०५ केजी कुरिलो कालीमाटी भित्रिएको छ ।

निरन्तर बढ्यो मूल्य

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार कुरिलोको मूल्य बढ्ने क्रम महिना पिच्छे बढ्दै गयो । जेठ महिनामा प्रतिकेजी २ सय ५० देखि ३ सय २५ रुपैयाँ होलसेल मूल्यमा बिक्री भएको थियो ।

असारमा प्रतिकेजी २४० देखि २६० रुपैयाँमा कुरिलो बिक्री भयो । साउनमा प्रतिकेजी २४० देखि ५ सय रुपैयाँ र भदौमा ३ सय ५० देखि ५०० रुपैयाँसम्म बजार भाउ कायम भएको थियो ।

त्यस्तै, असोज १ गते निर्धारण गरिएको समितिको मूल्यसूची अनुसार प्रतिकेजी ४४० रुपैयाँ देखि २५० सम्म कायम भएको थियो । समितिको तथ्यांक अनुसार कुरिलोको अन्तिम मूल्य निर्धारण कात्तिक ६ गते भएको थियो, जसमा १ हजार ८०० देखि २ हजार रुपैयाँसम्म कायम भएको थियो ।

कात्तिक ६ गते यता भने समितिले कुरिलोको मूल्य निर्धारण गरेको छैन् । थोरै मात्रामा मात्रै कुरिलो बजार भित्रिने गरेको कारण मूल्य निर्धारण गर्न नसकिएको समितिका सूचना अधिकारी श्रेष्ठले बताए ।

‘अहिलेको कुरा गर्दा कालीमाटीमा दैनिक २/ ३ केजी कुरिलो मुस्किलले भित्रिन्छन् । त्यसको मूल्य निर्धारण गरिएको छैन् ।’ सूचना अधिकारी श्रेष्ठले बताए ।

खुद्रा बजारमा भने कुरिलो पछिल्लो समय प्रतिकेजी ४ हजार रुपैयाँसम्म किनबेच हुँदै आएको व्यवसायीहरुको भनाइ छ । ।

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार नेपालभर १ सय ५७ हेक्टरमा कुरिलो खेती गरिन्छ । जसमा वार्षिक १ हजार १ सय ६६ टन कुरिलो उत्पादन हुन्छ ।

खासगरी मोरङ, खोटाङ, नुवाकोट, नवलपुर, झापा, काभ्रे, भक्तपुर, चितवन, कास्कीमा सबैभन्दा धेरै उत्पादन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here